विदुर (नुवाकोट)- नेपाल चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउन्डेसनको संयुक्त आयोजनामा भोटेकोशी बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न राहत सामग्री वितरण गरिएको छ।
संस्थाहरूले आइतबार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ स्थित सिमचौरका बाढीप्रभावित समुदायलाई लक्षित गरी स्वास्थ्य परीक्षण गर्नुका साथै दैनिक उपभोग्य खाद्यान्न राहत हस्तान्तरण गरेका हुन्।
बाढीपछिको संकटपूर्ण अवस्थामा प्रभावित क्षेत्रका नागरिकलाई तत्काल स्वास्थ्य सेवा र पोषणको आवश्यकतालाई ध्यानमा राख्दै संयुक्त टोलीले सिमचौरमा राहत सामग्री पुर्याएको हो। राहत सामग्रीअन्तर्गत बाढीपीडित परिवारलाई चामल, दाल, तेल, नुन, बिस्कुट तथा चाउचाउ वितरण गरिएको संघले जनाएको छ।
विपद्का बेला उद्धार र प्राथमिक उपचारसँगै पोषित आहार र संक्रमण रोकथाम उत्तिकै महत्त्वपूर्ण हुने भएकाले चिकित्सक संघ र फाउन्डेसनले एकीकृत रूपमा सेवा प्रदान गरेका हुन्। स्वास्थ्य शिविरमार्फत बाढीप्रभावित क्षेत्रका बालबालिका, ज्येष्ठ नागरिक तथा महिलाहरूको विशेष स्वास्थ्य परीक्षण गरी आवश्यक औषधिसमेत वितरण गरिएको थियो।
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल मेडिकल फाउन्डेसनले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको पुनरुत्थानका लागि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्।