काठमाडौं- बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिन राष्ट्रिय ट्रमा सेन्टरले रसुवामा आफ्नो दोस्रो चिकित्सकीय टोली पठाएको छ।
बाढी आएकै दिन ट्रमा सेन्टरले तत्काल उद्धार तथा उपचारका लागि नुवाकोटतर्फ पहिलो टोली खटाएको थियो। सोही टोली अहिले रसुवा पुगिसकेको अवस्थामा स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सेन्टरले एमडीजीपी डाक्टरको नेतृत्वमा दोस्रो टोली थपेको हो।
नयाँ पठाइएको टोलीमा एमडीजीपी डा. सरोजकुमार गोहिवारको नेतृत्वमा मेडिकल अफिसर डा. सितेश यादव, मेडिकल अफिसर डा. राजीव खड्का र प्यारामेडिक्स (एचए) चन्दनकुमार यादव रहेका छन्।
टोलीले रसुवा अस्पतालमा पुगेर बाढीबाट घाइते भएका तथा प्रभावित स्थानीय नागरिकहरूलाई आकस्मिक उपचार, शल्यक्रिया तथा अन्य आवश्यक स्वास्थ्य सेवा प्रदान गर्नेछ।
विपद्का बेला जिल्ला अस्पतालहरूमा बिरामीको चाप बढ्ने र जनशक्तिको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै ट्रमा सेन्टरले निरन्तर रूपमा विशेषज्ञ टोली प्रभावित क्षेत्रमा खटाइरहेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।