ललितपुर- ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको चिकित्सकसहितको एम्बुलेन्स सेवाका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग चिकित्सक व्यवस्थापनसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअनुसार प्रतिष्ठानले महानगरपालिकाको यल हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरअन्तर्गत ६ जना मेडिकल अधिकृत खटाउनेछ।
ललितपुर महानगरपालिकाले केही दिनअघि संघीय स्वास्थ्यमन्त्री निशा मेहताबाट औपचारिक उद्घाटन गराई चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो। अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो सेवाको प्रभावकारी सञ्चालनका लागि महानगरपालिका र प्रतिष्ठानबीच चिकित्सक व्यवस्थापनसम्बन्धी सम्झौता भएको अस्पतालका निर्देशक प्रा. डा. शन्त वीर महर्जनले जानकारी दिएका छन्।
'पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ललितपुर महानगरपालिकाको यल हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरमा कार्य गर्ने गरी ६ जना मेडिकल अधिकृत खटाउनेछ। आवश्यकता र दुवै पक्षको सहमतिअनुसार चिकित्सकको संख्या थप गर्न सकिने व्यवस्था पनि गरिएको छ,' प्रा. डा. महर्जनले विज्ञप्तिमा भनेका छन्।
खटिने चिकित्सकहरूको पारिश्रमिक तथा सेवा–सुविधा प्रतिष्ठानमा समान तहमा करार सेवामा कार्यरत मेडिकल अधिकृतसरह हुनेछ। चिकित्सकहरूको पारिश्रमिकका लागि आवश्यक रकम महानगरपालिकाले उपलब्ध गराउनेछ। आवश्यकताअनुसार महानगरपालिकाले ६ महिनाको अग्रिम पारिश्रमिक रकमसमेत पेश्कीस्वरूप उपलब्ध गराउन सक्ने सम्झौतामा उल्लेख छ।
चिकित्सकहरूलाई नियमित रूपमा सेवामा खटाउने तथा कुनै चिकित्सक बिदामा रहेको अवस्थामा सेवा प्रभावित हुन नदिन वैकल्पिक चिकित्सकको व्यवस्था गर्ने जिम्मेवारी प्रतिष्ठानको हुनेछ। सेवामा खटिएका चिकित्सकको कार्यसम्पादन सन्तोषजनक नभएमा महानगरपालिकाको अनुरोधमा वैकल्पिक चिकित्सकको व्यवस्था गर्नुपर्नेछ।
चिकित्सकसहितको एम्बुलेन्स सेवामार्फत आकस्मिक अवस्थाका बिरामीलाई अस्पताल पुर्याउनुअघि नै विभिन्न प्रकारका चिकित्सकीय सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसअन्तर्गत श्वासप्रश्वास तथा वायुमार्ग व्यवस्थापन, अक्सिजन थेरापी, बीभीएमभेन्टिलेसन, सक्सनिङ, आवश्यकताअनुसार इन्ट्युबेसन, सीपीआर/बीएलएस/एसीएलएस, डिफिब्रिलेसन तथा कार्डियोभर्सन, १२–लीड ईसीजी, रक्तस्राव नियन्त्रण, ट्रमा तथा स्प्लिन्टिङ, भास्कुलर एक्सेस, आकस्मिक औषधि तथा तरल पदार्थ व्यवस्थापन र प्रसूति सहायता लगायतका सेवा समेटिएका छन्।

त्यस्तै, बिरामी तथा आफन्तलाई आवश्यक परामर्श, सुरक्षित बिरामी स्थानान्तरण, सम्बन्धित स्वास्थ्य संस्था तथा निकायसँग समन्वय र अस्पतालमा उचित हस्तान्तरणसमेत सेवाको महत्वपूर्ण हिस्सा रहनेछ। सेवा प्रवाह सम्बन्धित चिकित्सकीय प्रोटोकल, प्रचलित कानुन तथा स्वीकृत कार्यविधिअनुसार सञ्चालन गरिनेछ।
महानगरपालिकाले सञ्चालनमा ल्याएको यो सेवाले ‘प्रि–हस्पिटल केयर’ अर्थात् अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक चिकित्सकीय सेवा उपलब्ध गराउने अवधारणालाई स्थानीय तहमा संस्थागत गर्ने प्रयास गरेको छ। विशेषगरी दुर्घटना, हृदयाघात, स्ट्रोक, अत्यधिक रक्तस्राव, अचानक बेहोस हुनेलगायतका आकस्मिक अवस्थामा अस्पताल पुग्नुअघि नै चिकित्सकीय मूल्याङ्कन र प्रारम्भिक उपचार उपलब्ध गराउन यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ललितपुर महानगरपालिका र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौतामा महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जन तथा प्रतिष्ठानका उपकुलपति प्रा.डा. नवीस मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौता वि.सं. २०८३ भदौ ११ गतेदेखि २०८४ असार मसान्तसम्म कायम रहनेछ। दुवै पक्षको सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ। महानगरपालिका र प्रतिष्ठानबीचको यो सहकार्यले समुदायस्तरमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै स्थानीय सरकार र स्वास्थ्य संस्थाबीचको सहकार्यबाट अस्पतालपूर्व स्वास्थ्य सेवाको प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।