काठमाडौं- ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालले आयोजना गरेको देशव्यापी बृहत् रक्तदान अभियानबाट ८ हजार ६ सय ९४ पिन्ट रगत संकलन भएको छ। संकलित रगत नेपाल रेडक्रस सोसाइटीलगायत विभिन्न ब्लड बैंकलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।
संकलित रगत भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भई उपचाररत घाइते तथा अन्य बिरामीको उपचारमा आवश्यक पर्न सक्ने भन्दै विभिन्न अस्पतालमा प्रदान गरिने छ। संकलित रगत विशेषगरी वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बिरामीको जीवनरक्षाका लागि प्रयोग गरिने जनाइएको छ।
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औँ पुण्य स्मृति तथा विश्व बन्धुत्व दिवसका अवसरमा मानव सेवा र विश्व बन्धुत्वको भावना प्रवर्धन गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।
भदौ ५ देखि ९ गतेसम्म पाँच दिन देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानमा रक्तदाता, सामाजिक अभियन्ता, युवा तथा विभिन्न संघ–संस्थाको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
अभियानको शुभारम्भ भदौ ५ गते काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा भएको थियो। प्रतिनिधिसभा सदस्य प्रभा ढकालको प्रमुख आतिथ्य तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक डा. राज दिदीको अध्यक्षतामा अभियानको शुभारम्भ गरिएको थियो।
अभियानअन्तर्गत भदौ ५ गते १ हजार ४ सय १५ पिन्ट, भदौ ६ गते ३ हजार १ सय १८ पिन्ट, भदौ ७ गते १ हजार ८ सय ६६ पिन्ट, भदौ ८ गते ८ सय ७१ पिन्ट र भदौ ९ गते १ हजार ४ सय ३६ पिन्ट रगत संकलन भएको छ।
गत वर्ष ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको रक्तदान अभियानबाट ११ हजार ९ सय १६ पिन्ट रगत संकलन भएको थियो। यस वर्षको संकलन गत वर्षको तुलनामा ३ हजार २ सय २२ पिन्ट कम हो।
आयोजकका अनुसार अभियानले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै विपद्का समयमा आवश्यक पर्ने रगतको व्यवस्थापनमा समेत ठूलो सहयोग पुर्याएको छ।