वीरगञ्ज- वीरगञ्जस्थित नारायणी अस्पतालबाट एकदिने नवजात शिशु हराएको आफन्तले गुनासो गरेका छन्। सर्लाहीको रामनगर नगरपालिका–३ निवासी रञ्जय दास र रिंकु देवी दासका एकदिने छोरालाई अस्पतालको गाइनो वार्डबाट अपरिचित महिलाले लिएर गएको परिवारजनले बताएका छन्।
परिवारका अनुसार गाइनो वार्डको बेड नम्बर ११ मा भर्ना रहेका शिशुलाई सरसफाइ कर्मचारीका रूपमा परिचय दिएकी एक महिलाले खेलाउने बहानामा लिएर गएकी थिइन्। बच्चालाई लिएर गएपछि ती महिला सम्पर्कविहीन भएको परिवारको भनाइ छ।
शिशुकी हजुरआमा साँझा देवीका अनुसार ती महिला अस्पताल परिसरमा सरसफाइ कर्मचारीका रूपमा काम गर्ने गरेको बताउँदै बच्चासँग नजिकिएकी थिइन्। आफूले बच्चाको हेरचाह गरिरहेको समयमा अस्पतालका सुरक्षा गार्डले गाइनो वार्डमा सरसफाइ भइरहेको भन्दै बस्न नदिएपछि बाहिर गएको र त्यही समयमा ती महिलाले बच्चालाई लिएर गएको उनले बताइन्।
एकदिने नवजात शिशु अस्पतालबाटै हराएपछि परिवारजनमा त्रास र चिन्ता बढेको छ। घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। प्रहरीले शिशुको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।