काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको र देश शोकमा रहेका बेला परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६७औँ वार्षिकोत्सवको औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ।
अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार आगामी भदौ १९ गते कृष्णाष्टमीका दिन ६७औँ वार्षिकोत्सव पर्ने भए पनि राष्ट्रिय संकटको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै वार्षिकोत्सवको औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको हो।
अस्पतालका अनुसार वार्षिकोत्सवका लागि खर्च हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी दिएका छन्।
अस्पतालले राष्ट्रिय विपद्को संवेदनशील घडीमा आफ्ना सम्पूर्ण कर्मचारी तथा सरोकारवालालाई एकजुट भई सम्भावित अवस्थाका लागि तयार रहन आग्रह गरेको छ। साथै, आ–आफ्नो तर्फबाट राज्यलाई सक्दो सहयोग गर्न पनि अस्पतालले आह्वान गरेको छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले विपद्का कारण प्रभावित नागरिकप्रति मानवीय संवेदना र ऐक्यबद्धता जनाउँदै वार्षिकोत्सवको औपचारिक कार्यक्रम स्थगित गरेको हो।