काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५५ हजार ५५५ नगद सहयोग गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरका तर्फबाट सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
विपद्का कारण प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव तथा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम उच्च हुने भएकाले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको संस्थाका रूपमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त सहयोग गरिएको नेशनल प्याथ ल्याबले जनाएको छ।
विपद्को समयमा राहतसँगै नागरिकको स्वास्थ्य सुरक्षा, रोगको पहिचान तथा रोकथाम पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूले आफ्नो विशेषज्ञता र स्रोतलाई सामाजिक हितमा परिचालन गर्नुपर्ने नेशनल प्याथ ल्याबको धारणा छ।
यसै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कम्पनीले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत योगदान गर्ने योजना अघि सारेको हो।

नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बाढीबाट ठूलो क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत चरणबद्ध रूपमा थप रु. २० लाखसम्म सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपद् व्यवस्थापन तथा प्रभावित नागरिकको पुनःस्थापनामा सरकारको प्रयासलाई निजी क्षेत्रको सहकार्य र सामाजिक उत्तरदायित्वले थप प्रभावकारी बनाउन सक्ने विश्वास नेशनल प्याथ ल्याबले लिएको छ। कम्पनीले आगामी दिनमा पनि सरकार, स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।