काठमाडौं- प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र अन्तर्राष्ट्रिय साझेदार संस्था द फ्रेड हलोज फाउण्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ३२ हजार ५५२ रुपैयाँ सहयोग प्रदान गरेका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।
तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट १ करोड १ लाख १ रुपैयाँ र प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको एक दिनको पारिश्रमिक बराबरको ८ लाख ५१ हजार ३५१ रुपैयाँ कोषमा जम्मा गरिएको छ। यसै गरी, प्रतिष्ठानको अन्तर्राष्ट्रिय साझेदार संस्था ‘द फ्रेड हलोज फाउण्डेसन, अष्ट्रेलिया’का तर्फबाट २१ लाख ८१ हजार २०० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।
चेक हस्तान्तरण कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी, प्रमुख वित्तीय अधिकृत रामचन्द्र खनाल तथा द फ्रेड हलोज फाउण्डेसनका नेपाल प्रतिनिधि एन्जिला दाहालको उपस्थिति रहेको थियो।
कठिन घडीमा सम्पूर्ण नेपालीहरू एक-अर्काको दुःख-सुखमा साथ दिँदै एकजुट हुन र विपद् प्रभावित समुदायको पुनःस्थापनामा आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन प्रतिष्ठानले सबैमा आग्रहसमेत गरेको छ।