काठमाडौं- प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि क्वेस्ट फारमास्युटिकल्स प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
हालैको बाढी-पहिरोबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका बासिन्दालाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम कोषमा जम्मा गरेको हो।
विपद्का कारण प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ। प्रस्तुत सहयोगबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका कार्यहरूमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
नेपाल सरकारले विपद् प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यहरूलाई तीव्रता दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गर्दै आएको छ।