काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ।
अस्पतालका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको नेतृत्वमा अस्पताल व्यवस्थापन, चिकित्सक तथा कर्मचारीहरूको संयुक्त सहभागितामा उक्त सहयोग रकम कोषमा जम्मा गरिएको हो। कुल १५ लाख रुपैयाँमध्ये अस्पतालको तर्फबाट १० लाख, चिकित्सकहरूको तर्फबाट ३ लाख ९९ हजार र कर्मचारीहरूको तर्फबाट १ लाख १ हजार रुपैयाँ योगदान गरिएको अस्पतालले जनाएको छ।
भाद्र १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण भोटेकोशी क्षेत्रमा भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै हस्पिटलले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।
सहयोग हस्तान्तरणका क्रममा अध्यक्ष डा. श्रेष्ठले राष्ट्रमा विपद् पर्दा ॐ हस्पिटल सधैँ नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। 'दुःखको यस घडीमा हामी साथमा छौँ,' डा. श्रेष्ठले भने, 'आगामी दिनमा परिस्थिति अनुसार उद्धार तथा राहतसँगै निःशुल्क स्वास्थ्य सेवा र उपचारका माध्यमबाट पनि सहयोगलाई निरन्तरता दिनेछौँ।'
उनले प्राकृतिक विपद्मा परेका नागरिकको पीडामा साथ दिनु निजी क्षेत्रको पनि सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै विपद्का बेला सरकार, समुदाय र निजी क्षेत्रबीचको सहकार्य अझ मजबुत हुनुपर्नेमा जोड दिए।