काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका दुवैजनालाई तत्काल प्राथमिक उपचार दिइएको छ भने थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
जीवित उद्धार गरिएकामा नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र सुपरभाइजर कविर महर्जन छन्।
भदौ १० गते तिब्बततर्फबाट आएको भीषण बाढीपछि सुरुङभित्र फसेका उनीहरूलाई करिब १० दिनपछि जीवितै उद्धार गरिएको हो।
उद्धार गरिएका दुवैजनाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उद्धारस्थलमै आपत्कालीन उपचारको व्यवस्था मिलाइएको थियो। नेपाली सेनाको मेडिकल टोली उद्धारस्थलमा तयारी अवस्थामा राखिएको छ। टोलीले उद्धार गरिएकाहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक आपत्कालीन उपचार त्यहीँ गरिरहेको छ।
उनीहरूको स्वास्थ्य अवस्थाअनुसार थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ। उद्धारस्थलदेखि अस्पतालसम्म आवश्यक परेमा प्रयोग गर्न ग्राउन्ड एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ।
त्यस्तै, काठमाडौं उपत्यकासहित नजिकका विभिन्न अस्पताललाई आपत्कालीन अवस्थामा बिरामी भर्ना गरी उपचार गर्न सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
उद्धारपछि सञ्जय शाहले सुरुङभित्र अझै केही व्यक्ति रहेको र उनीहरू सकुशल रहेको जानकारी दिएका छन्। उनको सूचनाका आधारमा सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्यलाई समेत तीव्र पारिएको छ।