काठमाडौं- त्रिशुली ३ए जलविद्युत आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका दुवै जनाको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। उद्धारपछि उपचारमा खटिएको नेपाली सेनाको मेडिकल टिमले दुवैको भाइटल प्यारामिटर (मुटुको धड्कन, रक्तचाप, सास फेर्ने दर र शरीरको तापक्रम) सामान्य अवस्थामा रहेको पुष्टि गरेको छ।
सेनाको मेडिकल टोलीले उद्धार स्थलमै प्रारम्भिक स्वास्थ्य परीक्षण गर्दा दुवै व्यक्तिको अक्सिजन स्तर र नाडीको गति सन्तोषजनक रहेको तथा कुनै पनि प्रकारको तत्काल जोखिम नदेखिएको जानकारी दिएको हो। दुवैको शारीरिक अवस्था सामान्य रहे पनि पानी निलेको, चिसोले प्रभावित भएको वा मनोवैज्ञानिक आघातको सम्भावनालाई मध्यनजर गर्दै उनीहरूलाई अस्पतालमा भर्ना गरी थप अवलोकन (ओब्जर्भेसन) र आवश्यक उपचार प्रदान गरिने मेडिकल टोलीले जनाएको छ।
उद्धार सँगसँगै आपतकालीन सेवाका लागि नेपाली सेनाको मेडिकल टिम, हेलिकोप्टर तथा ग्राउन्ड एम्बुलेन्सहरू तयारी अवस्थामै राखिएको थियो।
उद्धारकार्यमा खटिएका अधिकारीहरूका अनुसार उद्धारपछि तत्काल उपचार सुरु गर्न सकिएकाले दुवैको ज्यान जोखिममुक्त रहेको हो। यद्यपि, उनीहरूको पूर्ण स्वास्थ्य लाभका लागि केही दिनसम्म चिकित्सकीय निगरानीमा राख्नु आवश्यक रहेको जनाइएको छ।