काठमाडौं — भोटेकोशी बाढीपीडितलाई वितरण गर्न तयारी गरिएका राहत सामग्रीमा गम्भीर लापरबाही भेटिएको छ। विपद्मा परेकालाई सहयोगस्वरूप पठाउन लागिएका चामल, आटा, भुजा, चिप्सलगायत खाद्य सामग्री म्याद गुज्रिएको तथा उपभोगका लागि अयोग्य अवस्थामा भेटिएका हुन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौंस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त अनुगमन टोलीले काठमाडौंका विभिन्न पाँचवटा भण्डारण तथा अनुगमन स्थलमा गरेको आकस्मिक निरीक्षणका क्रममा यस्तो तथ्य बाहिर आएको हो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम गरिएको अनुगमनका क्रममा सरकारी निकायदेखि प्रहरी तालिम केन्द्रसम्मका भण्डारणस्थलमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेका हुन्।
अनुगमन टोलीले विशेषगरी बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग, सामाखुसीस्थित प्रहरी तालिम केन्द्र र राधा स्वामी सत्सङमा भण्डारण गरिएका राहत सामग्रीमा कैफियत भेटेको हो।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार राहत संकलन तथा प्याकेजिङ भइरहेका ती स्थानमा म्याद गुज्रिएका वस्तुसमेत अन्य खाद्य सामग्रीसँगै वितरणका लागि तयारी अवस्थामा राखिएको पाइएको थियो।
बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा राहतका लागि प्याकिङ गर्न तयारी अवस्थामा राखिएका सामग्रीमध्ये यशोदा फुड्स प्रालि, रुपन्देहीको ‘करेन्ट चिप्स’ र गिरिधारी फुड प्रडक्ट, बुटवलको ‘भुजा’ म्याद गुज्रिएको अवस्थामा फेला परेको हो। अनुगमन टोलीले ३० थान करेन्ट चिप्स र २१ बोरा भुजा वितरणमा रोक लगाउँदै छुट्टै ‘एक्स्पायर्ड जोन’मा राखेर कानुनी कारबाही अघि बढाएको छ।
यसैगरी, सामाखुसीस्थित प्रहरी तालिम केन्द्रमा भण्डारण गरिएका सामग्रीमध्ये दुई प्याकेट अर्थात् १८ पिस ‘चोकोफन’ र पाँच किलोको एक प्याकेट चक्की आटा म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो।
सोही स्थानमा राखिएको ५९ प्याकेट ‘अल इन वान’ दालमोठको उपभोग्य मिति सकिन दुई दिन मात्र बाँकी रहेको पाइएको थियो। विभागले म्याद गुज्रिएका सामग्रीसँगै दुई दिन मात्र म्याद बाँकी रहेको उक्त दालमोठलाई पनि वितरण गर्न रोक लगाउँदै ‘एक्स्पायर्ड जोन’मा राख्न लगाएको छ।
सामाखुसीस्थित राधा स्वामी सत्सङमा गरिएको अनुगमनका क्रममा जयश्री उसिना चामलको २५ किलोको एक बोरा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको थियो।
राहतजस्तो संवेदनशील र मानवीय कार्यमा म्याद गुज्रिएका खाद्य सामग्री वितरण गर्दा विपद्का कारण पहिले नै समस्यामा परेका नागरिकको स्वास्थ्यमा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै विभागले कारबाही अघि बढाएको जनाएको छ।
विभागको अपिल : राहतमा सुरक्षित र म्यादभित्रका खाद्य सामग्री मात्रै वितरण गर्नू
घटनापछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाढी प्रभावित क्षेत्रका उपभोक्ता, राहत वितरक तथा खाद्य व्यवसायीका लागि विशेष अपिल तथा निर्देशन जारी गरेको छ।
विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को परिपालना गर्दै बाढी प्रभावित क्षेत्रमा खाद्य पदार्थको स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गरेको हो।
सर्वसाधारण उपभोक्ताका लागि सुझाव
बाढी प्रभावित क्षेत्रमा खानेपानीका मुहान दूषित हुन सक्ने भएकाले पानी राम्ररी उमालेर मात्र प्रयोग गर्नुहोस्।
बाढीले भिजेका प्याकेट, बोरा वा खुला खाद्यान्न—चामल, दाल, पिठोलगायत—दूषित भएको हुन सक्ने भएकाले त्यस्ता सामग्री प्रयोग नगर्नुहोस्।
पकाएको खाना सकेसम्म तुरुन्तै खानुहोस्। उपभोग्य अवधि समाप्त भएका, बासी, खुला तथा झिँगा भन्केका खाना र सडेगलेका फलफूल तथा तरकारी नखानुहोस्।
खाना बनाउनुअघि, खाना खानुअघि तथा शौचालय प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात धुनुहोस्।
राहत वितरक तथा व्यवसायीका लागि निर्देशन
राहतस्वरूप वितरण गरिने खाद्य पदार्थ सुरक्षित, ताजा र उपभोग्य मिति (Expiry Date) भित्रका मात्र हुनुपर्छ।
खाद्य पदार्थलाई ओस, बाढीको पानी तथा कीटनाशक विषादीबाट टाढा सुरक्षित र चिसो स्थानमा भण्डारण गर्नुपर्छ।
विभागले आम नागरिकलाई स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्न सजग र प्रतिबद्ध रहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा अस्वस्थकर वा दूषित खाद्य सामग्री बिक्री–वितरण भएको पाइएमा वा खाद्य स्वच्छतासम्बन्धी कुनै जिज्ञासा तथा गुनासो भएमा विभाग वा मातहतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा जानकारी गराउन पनि विभागले अनुरोध गरेको छ।
थप जानकारी तथा गुनासोका लागि सम्पर्क
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहल, काठमाडौं: ९८५१३१९४८४ / ९८५१३१९४८२
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौं: ९८५१३४२८३०
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नुवाकोट: ९८५१३१०८४९
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँ: ९८५६०६१५८१
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, चितवन: ९८५५०३४१४५
विभागले म्याद गुज्रिएका तथा उपभोगका लागि जोखिमयुक्त खाद्य सामग्रीलाई छुट्टै ‘एक्स्पायर्ड जोन’मा राखेर कानुनी कारबाही अघि बढाएको जनाएको छ। आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सरोकारवालालाई खाद्य स्वच्छता र गुणस्तरमा विशेष ध्यान दिन विभागले आग्रह गरेको छ।