नुवाकोट– विपद्बाट प्रभावित परिवारलाई भावनात्मक तथा मानसिक सहयोग उपलब्ध गराउने उद्देश्यले नुवाकोटको विदुर नगरपालिकाका विभिन्न प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ।
होलिस्टिक एप्रोच फर मेन्टल इन्क्लुजन (एचएएमआई) संस्थाको पहलमा विदुर नगरपालिका–२ र ३ लगायत प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न लागिएको हो। कार्यक्रममार्फत करिब २ सय घरधुरी तथा व्यक्तिसम्म सेवा पुर्याउने लक्ष्य राखिएको संस्थाले जनाएको छ।
कार्यक्रमका लागि १२ सदस्यीय स्वयंसेवक टोली परिचालन गरिनेछ। टोलीलाई पुरुष र महिला गरी दुई समूहमा विभाजन गरिनेछ। टोलीको समग्र नेतृत्व एचएएमआईका अध्यक्ष गिरिराज अधिकारीले गर्नेछन्। टोलीले स्थानीय सरकार, वडा कार्यालय, नगरपालिका तथा अन्य सरोकारवाला निकायसँग समन्वय गर्नेछ।
स्वयंसेवक टोलीलाई थप ६ वटा साना समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा दुई जना सदस्य रहनेछन्। ती समूहले २०८३ साउन २५ गतेदेखि २० दिनसम्म प्रभावित घरधुरी तथा व्यक्तिसम्म पुगेर प्रत्यक्ष मनोसामाजिक सहयोग प्रदान गर्नेछन्। प्रत्येक व्यक्ति वा परिवारसँग करिब ६० देखि ९० मिनेटसम्म समय बिताउने योजना रहेको संस्थाले जनाएको छ।
टोलीले अस्थायी राहत शिविर तथा समुदायमा पुगेर सेवा दिनेछ। विपद्बाट प्रभावित केही परिवार अस्थायी शिविरमा बसिरहेका छन् भने केही आफन्तको घरमा आश्रय लिएर बसेका छन्। दुवै स्थानमा रहेका प्रभावित परिवारसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रमको मुख्य उद्देश्य समानुभूतिपूर्ण तथा सक्रिय सुनुवाइमार्फत विपद्पीडितलाई आफ्ना भावना, डर, चिन्ता र अनुभव निर्धक्क व्यक्त गर्न सुरक्षित वातावरण उपलब्ध गराउनु रहेको एचएएमआईले जनाएको छ।
विपद्का कारण धेरै व्यक्तिले मानसिक तनाव, त्रास, शोक र असहायपन महसुस गर्न सक्ने भए पनि आफ्ना भावना खुलेर व्यक्त गर्ने अवसर नपाउन सक्छन्। यस्तो अवस्थामा उनीहरूका कुरा सुन्ने र आवश्यक सहयोग उपलब्ध गराउने अवसरले मानसिक पुनर्लाभको सुरुवाती आधार तयार गर्न सक्ने संस्थाको विश्वास छ।
टोलीले प्रभावित परिवारको मनोसामाजिक अवस्था बुझ्नुका साथै तत्कालका आवश्यकता पहिचान गर्नेछ। आवश्यक परेमा सरकारी निकाय, मानवीय सहायता संस्था तथा अन्य सरोकारवाला निकायसँग सम्पर्क गराइदिने व्यवस्था पनि मिलाइनेछ।
त्यस्तै, थप विशेषज्ञ मानसिक स्वास्थ्य सेवा आवश्यक पर्ने व्यक्तिलाई सम्बन्धित स्वास्थ्य संस्था वा विशेषज्ञकहाँ पठाउने व्यवस्था गरिने संस्थाले जनाएको छ।
विपद् प्रतिकार्यमा खाना, कपडा, आवास सामग्री र औषधिजस्ता भौतिक राहतमा बढी ध्यान केन्द्रित हुने गरे पनि मानसिक तथा मनोसामाजिक सहयोग पनि उत्तिकै महत्वपूर्ण रहेको एचएएमआईले जनाएको छ।
घर, थातथलो, जीविकोपार्जन तथा आफन्त गुमाउँदा परेको भावनात्मक असर राहत तथा उद्धारका काम सकिएपछि पनि लामो समयसम्म रहन सक्ने भएकाले भौतिक राहतसँगै प्रारम्भिक मनोसामाजिक सहयोगलाई पनि प्राथमिकता दिनुपर्ने संस्थाको भनाइ छ।
एचएएमआईले यस पहलमार्फत विपद् प्रतिकार्यमा भौतिक र मानसिक दुवै पक्षलाई सँगसँगै सम्बोधन गर्नुपर्ने सन्देश दिन खोजेको जनाएको छ। संस्थाले ‘आउनुहोस्, हामी सँगै मिलेर सहनशीलता र समानतालाई प्रवर्द्धन गरौँ’ भन्ने मूल सन्देशसहित कार्यक्रम अघि बढाएको हो।
कार्यक्रमले मानसिक स्वास्थ्यको महत्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नुवाकोटलगायत विपद्प्रभावित समुदायको दीर्घकालीन पुनर्लाभ र आवश्यक स्रोत परिचालनमा समेत योगदान पुर्याउने अपेक्षा संस्थाले गरेको छ।