काठमाडौं — बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकले अब स्वास्थ्य बीमाअन्तर्गत उपचार सेवा लिँदा सहभुक्तानी तिर्नुपर्ने छैन। त्यस्तै, स्वास्थ्य बीमामा लागू हुने क्यापिङ अर्थात् सेवाको तोकिएको सीमासमेत हटाइएको छ।
नेपाल स्वास्थ्य बीमा बोर्डले विपद् प्रभावित नागरिकलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।
बोर्डका अनुसार २०८३ भदौ १० गते रसुवाबाट आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट र धादिङ प्रभावित भएका थिए। नेपाल सरकारले यी तीन जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सोही अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य बीमा बोर्डले ती जिल्लामा स्वास्थ्य बीमा सेवा प्रदायक संस्थाबाट सेवा लिने बिमितका लागि सहभुक्तानी र क्यापिङ हटाउने निर्णय गरेको हो। यो सुविधा नेपाल सरकारले तोकेको विपद् सङ्कटग्रस्त क्षेत्रको अवधिसम्म लागू हुनेछ।
परिचयपत्र नभए पनि उपचार पाइने
बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा समेत बिमित नागरिक उपचार सेवाबाट वञ्चित हुनुपर्ने छैन।
परिचयपत्र नभएका बिमितको स्वास्थ्य बीमा नम्बर IMIS-User प्रणालीमार्फत यकिन गरेर स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य बीमा सेवा प्रदायक संस्थालाई बोर्डले निर्देशन दिएको छ।
यसको अर्थ, स्वास्थ्य बीमा परिचयपत्र साथमा नभए पनि बीमा नम्बर पहिचान भएपछि बिमितले स्वास्थ्य बीमाअन्तर्गत उपचार लिन सक्नेछन्।
बाढी प्रभावित क्षेत्रमा नागरिकलाई उपचारका लागि आर्थिक तथा प्रशासनिक झन्झट नहोस् भन्ने उद्देश्यले सहभुक्तानी र क्यापिङ हटाइएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट डा. पवन कुमार साहले सम्बन्धित स्वास्थ्य संस्था तथा सरोकारवालालाई बोर्डको निर्णयअनुसार सेवा प्रवाह गर्न जानकारी गराएका छन्।