काठमाडौं- गण्डकी प्रदेशका क्यान्सरपीडितले काठमाडौंमा उपचार गराउँदा प्रदेश सरकारले प्रतिबिरामी थप १ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउने भएको छ।
यसका लागि गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कान्ति बाल अस्पतालबीच सोमबार सम्झौता भएको छ।
सम्झौताअनुसार गण्डकी प्रदेशका बासिन्दाले काठमाडौंस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्ति बाल अस्पतालमा क्यान्सर रोगको उपचार गराउँदा प्रदेश सरकारले प्रतिबिरामी थप १ लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराउनेछ।
स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव डा. युवानिधि बसौलाका अनुसार गण्डकी प्रदेशका नागरिकलाई काठमाडौंमा क्यान्सर उपचार गराउँदा थप आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले दुई अस्पतालसँग सम्झौता गरिएको हो।
सोमबार (भदौ २२ गते) भएको सम्झौतामा दुवै अस्पतालका निर्देशकसहित सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रदेश सरकारको सहयोगले काठमाडौंमा उपचार गराउनुपर्ने गण्डकीका क्यान्सर बिरामीको उपचार खर्चमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।