काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७९औँ क्षेत्रीय समिति बैठकमा ‘स्वास्थ्यका लागि मानव स्रोतसम्बन्धी डिली घोषणापत्र : विशेषज्ञ स्वास्थ्य सेवामा समानता’ पारित भएको छ।
घोषणापत्रमार्फत दक्षिण–पूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूले स्वास्थ्य जनशक्ति सुदृढ गर्दै ग्रामीण, दुर्गम तथा स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित क्षेत्रका नागरिकसहित सबैलाई गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
सार्वभौमिक स्वास्थ्य पहुँच हासिल गर्न गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच अत्यन्त महत्वपूर्ण भए पनि सबैभन्दा बढी आवश्यक पर्ने समुदायले नै यस्तो सेवाबाट पर्याप्त लाभ लिन नसकेको घोषणापत्रले औँल्याएको छ।
घोषणापत्रले स्वास्थ्यमा समानता, सुदृढ स्वास्थ्य प्रणाली र सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने साझा प्रतिबद्धतालाई जोड दिएको छ।