नुवाकोट- भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई लक्षित गरी नुवाकोटको विदुर नगरपालिका–३, सिर्खलीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २०० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्। सेवा लिनेहरूमा १०१ जना (४८ महिला र ५३ पुरुष) ज्येष्ठ नागरिक रहेका छन्। बाढीले घरका सामानका साथै नियमित सेवन गर्दै आएका सुगर, प्रेसर लगायतका दीर्घरोगका औषधि बगाएपछि प्रभावितहरू उपचार र औषधिको निरन्तरतालाई लिएर समस्यामा परेका थिए। गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक औषधि पाएपछि बाढी प्रभावित ज्येष्ठ नागरिकहरूले ठूलो राहत महसुस गरेका छन्।
शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ, मुटु रोग, अर्थोपेडिक्स, दन्त सेवा, अस्टियोप्याथीका साथै तनाव व्यवस्थापन र मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको थियो। बाढीका कारण उत्पन्न मानसिक तनावलाई ध्यानमा राख्दै ६० जना ज्येष्ठ नागरिक तथा तिनका परिवारका सदस्यलाई मनोसामाजिक परामर्श समेत दिइएको छ। शिविरमा सेवा लिएका ८४ वर्षीय यदुनाथ नेपाल र ७४ वर्षीया लीला देवी ढकालले बाढीले नियमित खाने औषधि बगाएपछि स्वास्थ्य बिग्रिने चिन्ता बढेकोमा गाउँमै जाँच र औषधि पाउँदा ठूलो सहयोग पुगेको बताए।
जेरियाट्रिक सोसाइटी अफ नेपाल, बिम्ब नेपाल र आर्ट अफ लिभिङको आयोजना, विभिन्न रोटरी क्लबहरूको सहयोग तथा स्थानीय वडा र स्वास्थ्य सेवा विभागको समन्वयमा सम्पन्न उक्त शिविरमा प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना र सशस्त्र प्रहरी बलका बेसलाई पनि आवश्यक औषधि हस्तान्तरण गरिएको थियो। आयोजकहरूका अनुसार विपद्पछिको अवस्थामा दीर्घरोगी ज्येष्ठ नागरिकको स्वास्थ्य सेवा र औषधिको निरन्तरता संवेदनशील विषय भएकाले आगामी दिनमा पनि प्रभावित क्षेत्रमा आवश्यक सहयोग र समन्वयलाई प्राथमिकता दिइनेछ।