काठमाडौं- रसुवा हुँदै त्रिशूली करिडोरमा आएको विनाशकारी बाढीपछि जर्मनीले नेपालमा स्वास्थ्य, स्वच्छ ऊर्जा र जलवायु अनुकूलनका क्षेत्रमा ७३ लाख ५० हजार युरो (अर्थात् १ अर्ब २९ करोडभन्दा बढी रुपैयाँ) सहयोग गर्ने भएको छ।
जर्मनीले तत्कालीन राहतसँगै विपद्पछि प्रभावित समुदायको पुनर्निर्माण र भविष्यमा यस्ता विपद्सँग जुध्न सक्ने क्षमता विकासलाई प्राथमिकता दिएको हो। अगस्ट २६ को बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा घर, सडक, पुल, स्वास्थ्य संस्था तथा जलविद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
जर्मनीको ७३ लाख ५० हजार युरो विकास सहयोग स्वास्थ्य, स्वच्छ ऊर्जा र जलवायु अनुकूलनमा खर्च हुनेछ। जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था (जीआईजेड) नेपालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको साझेदारीमा कार्यक्रम कार्यान्वयन गर्नेछ।
यसअघि जर्मनीले बाढी प्रभावितका लागि ५ लाख ११ हजार युरो बराबरको आपत्कालीन सामग्री तथा स्थानीय गैरसरकारी संस्थामार्फत २ लाख युरो मानवीय सहायता उपलब्ध गराउने जनाएको थियो। आपत्कालीन सामग्री जर्मनीको टीएचडब्लु, थुरिन्जिया राज्य र डीएलआरजीबाट उपलब्ध गराइएको हो।
जर्मनीले संयुक्त राष्ट्रसंघको नेपाल केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (सीईआरएफ) तथा नेपालस्थित युरोपेली संघको मानवीय सहायता कोषमार्फत समेत योगदान गरिरहेको जनाएको छ। युरोपेली संघले पनि बाढी प्रभावितका लागि थप २० लाख युरो मानवीय सहायता घोषणा गरिसकेको छ।
जर्मनीले नेपाल सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापना तथा निर्माणसम्म सहयोग गर्ने जनाएको छ। अगस्ट २६ को बाढीबाट प्रभावित क्षेत्रमा करिब १० हजार घरपरिवारलाई तत्काल राहत आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।