नुवाकोट- डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपालले विदुर नगरपालिकाका विभिन्न बाढीपीडित आश्रयस्थलमा रहेका करिब ३०० जनाको मुख स्वास्थ्य परीक्षण गरेको छ।
९ सेप्टेम्बरमा आयोजित कार्यक्रममा बाढीपीडितको मुख स्वास्थ्य परीक्षणसँगै दाँत माझ्ने सही तरिका, मुखको सरसफाइ तथा मुखसम्बन्धी रोगको रोकथामबारे सचेतना दिइएको थियो। उनीहरूलाई निःशुल्क दाँत तथा मुखको सरसफाइ सामग्रीसमेत वितरण गरिएको थियो।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाको नेतृत्वमा भएको कार्यक्रममा प्रदीप तामाङ, पिताम्बर गिरी, हस्तबहादुर बस्नेत, बालकृष्ण सिंह, रतन थापा, सुभाष नेपाल, अरुण महतो, साजन त्वेना, श्रीहरि बोगटी र डा. बिजिता फुयाल सहभागी थिए।
यसै क्रममा बाढीबाट आफ्नो दन्त क्लिनिकसहित सम्पत्ति गुमाएका एसोसिएसनका सदस्य श्रीहरि बोगटीलाई सदस्यहरूबाट संकलित १ लाख रुपैयाँ राहतस्वरूप प्रदान गरिएको थियो।
कार्यक्रम डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन अफ नेपालको आयोजनामा नेपाल सीएमए एसोसिएसन र सेवा इन्टरनेसनल नेपालको सहकार्यमा सञ्चालन भएको हो।