राजविराज- गजेन्द्रनारायण सिंह अस्पतालले अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले घटनाको वास्तविक तथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन अघि बढाउने बताएको छ।
अस्पतालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा ३० वर्षीया बविता कुमारी पासवान अस्पताल पुगेकी थिइन्। प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उनलाई प्रसूति वार्डको बेड नम्बर २४ मा भर्ना गरिएको अस्पतालको अभिलेखमा उल्लेख छ।
अस्पतालका अनुसार पासवानसँग आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले अतिआवश्यक जाँच गर्न सुझाव दिइएको थियो। त्यसपछि उनी र उनका कुरुवा अस्पतालले उपलब्ध गराएको शैयामा नरहेको र बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिरै प्रसूति भएको जानकारी अस्पतालले प्राप्त गरेको जनाएको छ।
प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालसहित प्रसूति वार्डमा ल्याइएको अस्पतालले जनाएको छ। ड्युटीमा रहेका स्वास्थ्यकर्मीले नाल काटेर प्रसूति पश्चात आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक अनुरोध गरे पनि उनी अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण अस्पतालले सार्वजनिक गरेको छ।
हाल आमा र नवजात शिशु दुवै अस्पतालको बेड नम्बर २२ मा भर्ना भएर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्याहार लिइरहेका छन्। अस्पतालका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ।
घटनापछि आमा र बच्चालाई आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा सेवाहरू निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले अस्पतालको गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै संवेदनशील र गम्भीर विषय भएको भन्दै घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।
‘घटनाको वास्तविक तथ्य पत्ता लगाउन अस्पतालले निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन तथा नियमबमोजिम आवश्यक कारबाही गरिनेछ।’
त्यस्तै, सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भएमा त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउन अस्पताल तयार रहेको जनाएको छ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सेवा प्रवाह, प्रसूति सेवा व्यवस्थापन तथा सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने प्रतिबद्धता अस्पतालले व्यक्त गरेको छ।
घटनाको पूर्ण सत्यतथ्य छानबिनबाट बाहिर नआएसम्म संयमित भएर सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अस्पतालले सरोकारवाला तथा आम नागरिकसँग आग्रह गरेको छ।