काठमाडौं– विद्यार्थी, शिक्षक, कर्मचारी तथा आगन्तुकलाई सहज र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले फ्रन्टलाइन अस्पताल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ कलेज) बीच स्वास्थ्य सेवा सम्बन्धी समझदारी भएको छ।
समझदारीअनुसार एलबीईएफ कलेज परिसरमा ‘सञ्जीवनी बाई फ्रन्टलाइन’ नामक स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ। क्लिनिकको व्यवस्थापन फ्रन्टलाइन अस्पतालले गर्नेछ।
क्लिनिक हरेक दिन बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। फ्रन्टलाइन अस्पतालले दैनिक रूपमा स्वास्थ्य सहायक उपलब्ध गराउनेछ। स्वास्थ्य सहायकले आधारभूत स्वास्थ्य परीक्षण तथा स्वास्थ्य सहायता प्रदान गर्नुका साथै आवश्यक स्वास्थ्य समन्वय, औषधि तथा चिकित्सकीय सामग्रीको व्यवस्थापन र स्वास्थ्यसम्बन्धी अभिलेख राख्नेछ।
कुनै स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था आएमा आवश्यकताअनुसार फ्रन्टलाइन अस्पतालले तत्कालीन एम्बुलेन्स सेवा तथा आवश्यक चिकित्सकीय सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। आपसी समझदारीका आधारमा आवश्यक औषधि, चिकित्सकीय उपकरण तथा अन्य स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराइने जनाइएको छ।
यस सहकार्यअन्तर्गत एलबीईएफ कलेजका विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि समय–समयमा स्वास्थ्य सचेतना तथा स्वास्थ्य शिक्षा कार्यक्रमसमेत सञ्चालन गरिनेछ। विभिन्न स्वास्थ्य विषयमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीमार्फत जानकारी तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।
त्यसैगरी, आवश्यकता परेको अवस्थामा एलबीईएफ कलेज परिवारका सदस्यले फ्रन्टलाइन अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष तथा छुट दरमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ। कलेजमा आयोजना हुने विभिन्न कार्यक्रम, समारोह तथा विशेष गतिविधिमा आवश्यकताअनुसार चिकित्सकीय सहयोग तथा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउन पनि फ्रन्टलाइन अस्पतालले सहयोग गर्नेछ।
कलेज परिसरमा स्थापना गरिएको ‘सञ्जीवनी बाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको औपचारिक उद्घाटन फ्रन्टलाइन अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अशोक वर्धन, लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जलान र कार्यकारी निर्देशक प्रकाश कुमार केजरीवालले संयुक्त रूपमा गरेका छन्।
-1789043446.JPG)
उद्घाटन कार्यक्रममा फ्रन्टलाइन अस्पताल तथा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका प्रतिनिधि, व्यवस्थापन टोली तथा सम्बन्धित कर्मचारीको उपस्थिति थियो।
कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिले विद्यार्थी तथा शैक्षिक संस्थासँग जोडिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा सहज र समयमै उपलब्ध गराउने उद्देश्यले गरिएको सहकार्य महत्वपूर्ण रहेको बताएका थिए।
क्लिनिकमार्फत कलेज परिसरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनुका साथै आवश्यकता अनुसार फ्रन्टलाइन अस्पतालको विशेषज्ञ स्वास्थ्य सेवा, आकस्मिक सेवा, एम्बुलेन्सलगायत अन्य स्वास्थ्य सेवासँग प्रत्यक्ष समन्वय हुने व्यवस्था गरिएको छ।
यो सहकार्यले विद्यार्थी तथा कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप व्यवस्थित बनाउँदै स्वस्थ शैक्षिक वातावरण निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
