काठमाडौं - फिजिसियन डा. दिलजान मंसूरले दक्षिण अफ्रिकामा आयोजना हुन लागेको ‘वर्ल्ड न्यूट्रिसन समिट २०२६’ मा अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी हुने भएका छन्।
विश्वभरका चिकित्सक, वैज्ञानिक तथा अनुसन्धानकर्ताहरू सहभागी हुने सम्मेलन आगामी अक्टोबर १४ देखि १६ सम्म दक्षिण अफ्रिकाको स्टेलनबोस्चस्थित हेजेनडाल वाइन स्टेटमा आयोजना हुँदैछ।
‘द नोक्स फाउन्डेशन’ र ‘न्यूट्रिसन नेटवर्क’को संयुक्त आयोजनामा हुने सम्मेलनको यस वर्षको नारा ‘रिलाइटिङ द रुल्स’ रहेको छ। सम्मेलनमा मेटाबोलिक स्वास्थ्य, कार्बोहाइड्रेट नियन्त्रण तथा दीर्घकालीन रोगको उपचार र व्यवस्थापनमा पोषणको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
डा. मंसूरले सम्मेलनमा नेपालमा आफूहरूले गरिरहेको काम र मेटाबोलिक स्वास्थ्यसम्बन्धी अभ्यासबारे प्रस्तुति दिनेछन्। उनले नेपालमा वैज्ञानिक मेटाबोलिक उपचारको अवधारणामाथि भइरहेको कामलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर महत्वपूर्ण रहेको बताएका छन्।
काठमाडौंस्थित एफडीएच क्लिनिकमार्फत बिरामीको उपचार गर्दै आएका डा. मंसूरले पछिल्ला केही वर्षदेखि ‘लो-कार्ब’ आहार तथा मेटाबोलिक थेरापीमा केन्द्रित भएर काम गर्दै आएका छन्। उनले मधुमेह, मोटोपन तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्याको व्यवस्थापनमा खानपान र मेटाबोलिक स्वास्थ्यको भूमिकालाई प्राथमिकतामा राख्दै आएका छन्।
सम्मेलनमा सहभागी हुँदै गर्दा नेपालमा मेटाबोलिक स्वास्थ्य र पोषणसम्बन्धी अभ्यास, अनुसन्धान तथा बिरामी उपचारमा भइरहेका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने अवसर मिल्ने डा. मंसूरको भनाइ छ।