काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको निजी मेडिकल कलेजको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले पहिलोपटक खुलेर प्रशंसा गरेको छ। विगतमा डा. केसीको अभियानका कारण मेडिकल कलेजको सिट घटेको भन्दै आलोचना गर्दै आएका निजी मेडिकल कलेज सञ्चालकहरूले यसपटक भने चिकित्सा शिक्षामा पारदर्शिता र गुणस्तर सुधारमा उनको योगदान अस्वीकार गर्न नसकिने बताएका हुन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एन्ड डेन्टल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रबहादुर कार्कीले चिकित्सा शिक्षा सुधारमा डा. केसीको अभियानले महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले डा. केसीको अभियानअघि चिकित्सा शिक्षाको भर्ना प्रक्रिया पर्याप्त पारदर्शी नभएको, एकीकृत प्रवेश परीक्षा नभएको र शुल्कसमेत व्यवस्थित नभएको उल्लेख गरे।
‘डा. केसीको आन्दोलनअघि पर्याप्त पारदर्शिता थिएन। एकीकृत परीक्षा प्रणाली थिएन। अलि–अलि आफ्नो हात जगन्नाथ थियो होला। शुल्क निर्धारित थिएन,’ उनले भने, ‘आज जुन प्रणाली बनेको छ, त्यसमा डा. केसीको योगदान अस्वीकार गर्न सकिँदैन।’
उनले चिकित्सा शिक्षा सुधारमा चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालको योगदानसमेत महत्त्वपूर्ण रहेको बताए। डा. कार्कीका अनुसार डा. केसीको अभियानपछि निजी मेडिकल कलेजहरूले पनि आफ्नो प्रणाली, पूर्वाधार र शिक्षणको गुणस्तर सुधारमा निरन्तर काम गरेका छन्।
‘त्यही अभियानपछि हामीले पनि निरन्तर सुधार गरेका छौँ। अहिले हामी छाती ठोकेर राम्रो गरेका छौँ भन्ने ठाउँमा पुगेका छौँ,’ उनले भने।
‘सुधारको मूल्यांकन गरेर सिट र शुल्क निर्धारण होस्’
निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले गरेको सुधारको यथोचित मूल्यांकन गरेर सरकारले अब चिकित्सा शिक्षाको सिट र शुल्क निर्धारण गर्नुपर्ने माग गरेका छन्।
डा. कार्कीले विगतमा गरिएका सुधारका आधारमा प्रत्येक मेडिकल कलेजको वास्तविक पूर्वाधार, जनशक्ति र शिक्षण क्षमता मूल्यांकन गरेर त्यसैअनुसार एमबीबीएस सिट निर्धारण गर्नुपर्ने बताए।
‘अब हाम्रो सुधारको मूल्यांकन गरेर समयसापेक्ष शुल्क समायोजन हुने र त्यहीअनुसार एमबीबीएस सिट निर्धारण गरिनुपर्छ,’ उनले भने।
निजी मेडिकल कलेज सञ्चालकहरूले अहिले आफूहरूले पढाउन सक्ने क्षमता हुँदाहुँदै पनि सिट सीमित गरिँदा पूर्वाधार र जनशक्ति पूर्ण रूपमा उपयोग हुन नसकेको दाबी गरेका छन्। उनीहरूले आफूहरूले गुणस्तर कायम गर्न नसक्ने अतिरिक्त सिट माग नगरेको, प्रमाणित क्षमता भएका संस्थालाई सोहीअनुसार सिट उपलब्ध गराउनुपर्ने बताएका छन्।
‘सुधार उल्ट्याउने होइन, सुधारपछि बनेको क्षमता उपयोग गर्ने समय’
निजी मेडिकल कलेज सञ्चालकहरूले अहिलेको माग विगतमा भएका चिकित्सा शिक्षा सुधार उल्ट्याउने प्रयास नभएको स्पष्ट पारेका छन्। उनीहरूका अनुसार डा. केसीले उठाएका पारदर्शिता, प्रवेश परीक्षा, शुल्क नियमन र अनुगमनका विषयलाई स्वीकार गर्दै अब त्यसपछिको चरणमा प्रवेश गर्नुपर्ने समय आएको हो।
उनीहरूले चिकित्सा शिक्षामा ‘गलत कुरा हुन नदिने’ सुधारको पहिलो चरण पूरा भएको भन्दै अब ‘सही कुरा हुन दिने’ नीतिको आवश्यकता रहेको बताएका छन्।
त्यसका लागि प्रत्येक मेडिकल कलेजको वास्तविक र प्रमाणित शिक्षण क्षमता छुट्टाछुट्टै मूल्यांकन गरी सोही आधारमा भर्ना क्षमता निर्धारण गर्नुपर्ने उनीहरूको भनाइ छ। निजी मेडिकल कलेजले आफूहरूले निर्माण गरेका कक्षाकोठा, प्रयोगशाला, अस्पतालका बेड र प्राध्यापक जनशक्ति पूर्ण रूपमा उपयोग गर्न पाउनुपर्ने मागसमेत गरेका छन्।
उनीहरूले चिकित्सा शिक्षा आयोगमार्फत वैज्ञानिक आधारमा शुल्क पुनरावलोकन, प्रमाणित क्षमता भएका कलेजको सिट पुनर्स्थापना तथा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
यसअघि निजी मेडिकल कलेज सञ्चालकहरूले डा. केसीका अभियानका कारण आफूहरूको सिट घटेको र त्यसले संस्थालाई आर्थिक तथा शैक्षिक रूपमा असर गरेको भन्दै आलोचना गर्दै आएका थिए। तर यसपटक भने उनीहरूले चिकित्सा शिक्षा क्षेत्रमा पारदर्शिता र नियमनको आधार तयार गर्न डा. केसीको अभियानको योगदान स्वीकार गरेका छन्।
डा. गोविन्द केसीको प्रशंसामा निजी मेडिकल कलेजले के भने? ५ बुँदामा
१. चिकित्सा शिक्षामा पारदर्शिता ल्याउन योगदान
डा. केसीको सुधार अभियानअघि चिकित्सा शिक्षाको भर्ना प्रक्रिया पर्याप्त पारदर्शी नभएको र अहिले साझा प्रवेश परीक्षा प्रणाली स्थापित हुनुमा उहाँको अभियानको भूमिका रहेको स्वीकार।
२. भर्नामा मनोमानी अन्त्य
अहिले कुनै पनि मेडिकल कलेजले आफ्नै निर्णयमा विद्यार्थी भर्ना, पास–फेल वा पक्षपात गर्न नसक्ने प्रणाली स्थापित भएको र यो सुधारको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख।
३. शुल्क र अनुगमनमा नियमन स्थापित
चिकित्सा शिक्षाको शुल्क नियमन र कलेजहरूको अनुगमन कानुनी व्यवस्थाअन्तर्गत आउनु आवश्यक तथा सही सुधार भएको स्वीकार।
४. गुणस्तर सुधारको आधार तयार
डा. केसीको अभियानले चिकित्सा शिक्षामा गुणस्तरबारे बहस र सुधारको आधार तयार गरेको भन्दै अहिले निजी मेडिकल कलेजहरूले पनि सोही प्रणालीभित्र रहेर आफ्नो गुणस्तर सुधार गरेको दाबी।
५. सुधार उल्ट्याउने होइन, अब क्षमता उपयोग गर्नुपर्ने
डा. केसीले स्थापित गरेका सुधारलाई उल्ट्याउने नभई अब प्रत्येक मेडिकल कलेजको वास्तविक, प्रमाणित शिक्षण क्षमता मूल्यांकन गरेर त्यही आधारमा सिट निर्धारण गर्नुपर्ने निजी मेडिकल कलेजको भनाइ।