काठमाडौं- नेशनल मेडिकल कलेजका केही विद्यार्थी आन्दोलनमा उत्रिएपछि कलेजका अध्यक्ष डा. जैनुद्दीन अन्सारीले विद्यार्थीका माग र आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
काठमाडौंमा निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूलाई समेत ‘खडेबाबा’ भनेर नाम दिइएको दाबी गरे।
‘२२ जनाको नाम खडेबाबा भनेर दिएको छ। त्यसमा मेरो पनि नाम छ। म पनि खडेबाबा हुँ?,’ उनले भने।
उनले आर्थिक वर्षको अन्त्यतिर भएकाले यसपटक विद्यार्थीको स्टाइपेन्ड केही ढिला भएको बताए। ‘आर्थिक वर्षको अन्त्यमा भएकाले हामीले यसपल्ट स्टाइपेन्ड अलि ढिला हुन्छ भन्यौँ। एक महिना भइसक्यो भने तुरुन्तै बैंकबाट ऋण लिएर भए पनि हामी दिन्छौँ,’ उनले भने।
विद्यार्थीहरूले काम नगर्ने र सातामा ४६ घण्टाभन्दा बढी काम नगर्ने भनिरहेकोप्रति उनले असन्तुष्टि जनाए। ‘हामीले शोषण गरेका छैनौँ। हप्तामा ४६ घण्टाभन्दा बढी हामी काम गराउँदैनौँ। तपाईंहरू पढ्न आउनुभएको हो। विश्वविद्यालयसँग हामीले लेखेर पठाइदिन्छौँ। विश्वविद्यालयले जे भन्छ, त्यहीअनुसार हामी गर्ने हो,’ उनले भने।
उनका अनुसार विश्वविद्यालयमा भएको बैठकपछि विद्यार्थीलाई पनि बोलाएर त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको व्यवस्थाअनुसार काम गर्नुपर्ने स्पष्ट पारिएको थियो। ‘त्यही स्वीकार गरेर तपाईंहरू पढ्न आउनुभएको हो। यहाँ आएर प्रत्येक विद्यार्थीले म यति गर्छु, म उति गर्छु भनेर आफ्नै हिसाबले बोल्न पाउनुहुन्न,’ उनले भने।
विद्यार्थीहरूले चिकित्सा शिक्षा आयोगमा समेत गुनासो गरेपछि विषय गम्भीर बनेको उनको भनाइ छ। ‘आयोगमा गयो, आयोगले पनि त्यही कुरा भन्यो। अहिले हामी सबै मेडिकल कलेजमा यो कुरा अलि धेरै गम्भीर भयो,’ उनले भने।
उनले विद्यार्थीहरूलाई आन्दोलनबाट पढाइ प्रभावित नपार्न आग्रह गरे। ‘युनिभर्सिटीले भनेपछि र आयोगले भनेपछि उहाँहरूलाई आह्वान गर्छौँ- भाइहरू, तपाईंहरू आएर पढ्नुस्, आफ्नो जीवन बर्बाद नगर्नुस्। अहिले पनि तपाईंहरूको माध्यमबाट हामी उहाँहरूलाई अनुरोध गरिरहेका छौँ,’ उनले भने।
विद्यार्थीलाई कलेजमा समस्या परेमा सम्बन्धित व्यक्ति वा विभागमा गुनासो गर्न पनि उनले आग्रह गरे। ‘कुनै समस्या आयो भने प्रिन्सिपल, शिक्षक, पोस्टग्राजुएट गाइड, पोस्टग्राजुएट कोअर्डिनेटर वा एचओडीलाई पहिले कम्प्लेन गर्नुस्। उहाँहरूले समस्या समाधान गर्नुहुन्छ। आजसम्म ठिक गर्दै आउनुभएको छ,’ उनले भने।