जनकपुरधाम- सर्पदंशबाट उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधामले घटनाबारे स्पष्टीकरण दिएको छ। अस्पतालले सर्पदंशको औषधि एन्टिस्नेक भेनम (एएसभी) उपलब्ध गराएर उपचार गरिएको र आईसीयू खाली नभएकाले बिरामीलाई अर्को अस्पतालमा पठाइएको जनाएको छ।
प्रतिष्ठानले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ निवासी महेश कुमार यादवलाई सर्पले दाहिने हातमा टोकेपछि असोज १४ गते राति करिब १ः४० बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।
बिरामीमा सर्पदंशका लक्षण देखिन थालेपछि तत्काल १० भाइल एएसभी दिइएको र सुधार नभएपछि थप पाँच भाइल औषधि दिइएको अस्पतालले जनाएको छ। बिरामीलाई आईसीयूमा राख्नुपर्ने अवस्था देखिए पनि अस्पतालमा आईसीयू खाली नरहेकाले अभिभावकको अनुरोधमा बिहान करिब ४ः३० बजे आईसीयू भएको अर्को अस्पतालमा पठाइएको विज्ञप्तिमा उल्लेख छ।
एएसभी खरिदमा अनियमितता नभएको दाबी
प्रतिष्ठानले सर्पदंशको उपचारमा प्रयोग हुने एएसभी नेपाल सरकारले खरिद गरी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने गरेको भन्दै प्रतिष्ठानले उक्त औषधि खरिद नगर्ने स्पष्ट पारेको छ। त्यसैले एएसभी खरिदमा अनियमितता भएको भन्ने समाचारमा कुनै सत्यता नरहेको उसको दाबी छ।
अस्पतालले उपकरण, औषधि तथा अन्य सामग्री खरिद सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार गर्ने गरेको तथा करार सेवामा कर्मचारी नियुक्ति गर्दा पनि प्रचलित कानुन पालना गर्ने गरेको जनाएको छ।
केही दिनदेखि सामाजिक सञ्जालमा प्रतिष्ठानका पदाधिकारीमाथि झुटा तथा भ्रामक आरोप लगाएर चरित्रहत्या गर्न खोजिएको दाबी गर्दै प्रतिष्ठानले त्यस्ता सामग्री प्रसारण गर्ने व्यक्तिको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
तर, बिरामीको मृत्युको कारण, उपचारको समग्र प्रक्रिया तथा अर्को अस्पतालमा पठाएपछि बिरामीको अवस्थाबारे विज्ञप्तिमा थप विवरण खुलाइएको छैन।