काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। पार्टीको सभापतिदेखि महामन्त्री र केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष जोडिएका नेता, चिकित्सक तथा मेडिकल व्यवसायीहरू प्रतिस्पर्धामा छन्।
पूर्व स्वास्थ्यमन्त्री, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष, चिकित्सक तथा स्वास्थ्य संस्थामा लगानी गरेका व्यवसायीहरू उम्मेदवार बनेपछि कांग्रेसको नयाँ कार्यसमितिमा स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व कस्तो रहने भन्ने चासो बढेको छ।
सभापतिमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा
कांग्रेस सभापतिमा पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन्। सभापति पदमा थापासहित किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। थापा यसअघि विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।
महामन्त्रीमा तीन जना स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उम्मेदवार
महामन्त्रीको खुलातर्फ पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल, मेडिकल व्यवसायी डा. सुनिलकुमार शर्मा र चिकित्सक तथा युवा कांग्रेस नेता डा. सन्तोष उपाध्याय प्रतिस्पर्धामा छन्।
खुला महामन्त्रीका दुई पदका लागि सात जनाको उम्मेदवारी परेको छ। उनीहरूसँगै अमरसिंह पुन, उदयशमशेर राणा, गुरुराज घिमिरे र नैनसिंह महर पनि प्रतिस्पर्धामा छन्।
पौडेल यसअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भइसकेका छन् भने विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। डा. शर्मा मेडिकल व्यवसायी हुन् भने डा. उपाध्याय चिकित्सकीय पृष्ठभूमिका युवा नेता हुन्।
चिकित्सक संघका तीन पूर्वअध्यक्ष केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. अञ्जनीकुमार झा, डा. मुक्तिराम श्रेष्ठ र डा. केदारनरसिंह केसी पनि केन्द्रीय सदस्यका उम्मेदवार छन्।
डा. झा मधेश भूगोलबाट र डा. श्रेष्ठ खुलातर्फ प्रतिस्पर्धामा छन्। डा. केसीले पेसागत तथा वर्ग क्लस्टरबाट उम्मेदवारी दिएका छन्। उनी कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्वास्थ्य समितिका संयोजकसमेत हुन्।
मेडिकल व्यवसायीदेखि बालरोग विशेषज्ञसम्म
मेडिकल व्यवसायी खुमा प्रसाद अर्यालले गण्डकी प्रदेश खुला क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। चार्टर्ड एकाउन्टेन्टसमेत रहेका अर्याल विभिन्न मेडिकल कलेज तथा स्वास्थ्य संस्थामा लगानीकर्ताका रूपमा संलग्न छन्। उक्त क्लस्टरबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषयविज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि नीतिगत तहबाट हस्तक्षेप आवश्यक रहेको उनको भनाइ छ।
प्रा. डा. अमिता प्रधान शाक्य केन्द्रीय सदस्यमा निर्विरोध
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रा. डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएकी छन्। स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय उनी पार्टीको केन्द्रीय नेतृत्वमा पुग्ने स्वास्थ्य क्षेत्रकी प्रतिनिधि हुन्।
प्रधान शाक्य पीपुल्स डेन्टल कलेज एन्ड हस्पिटलमा प्राध्यापकका रूपमा कार्यरत छिन्। उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा पनि परामर्शदाताका रूपमा आबद्ध छिन्।
स्वास्थ्य अनुसन्धानमा बायोस्टाटिस्टिक्स, लैङ्गिक मुद्दा तथा क्लिनिकल र सार्वजनिक स्वास्थ्य अनुसन्धान उनको विशेषज्ञताका क्षेत्र हुन्। स्वास्थ्य शिक्षा र अनुसन्धानमा हासिल गरेको अनुभवसँगै उनी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छिन्।
त्यस्तै, डा. गरिबदास ठाकुरले मधेशी क्लस्टरबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। उक्त क्लस्टरमा आठ जना केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ।
स्वास्थ्य क्षेत्रको अनुभव भएका उम्मेदवारहरू पार्टीको नेतृत्व र केन्द्रीय कार्यसमितिमा पुग्ने प्रयासमा रहँदा उनीहरूले स्वास्थ्य नीतिको सुधार, स्वास्थ्य सेवाको पहुँच र स्वास्थ्य क्षेत्रका समस्यालाई पार्टीको नीतिगत बहसमा कति प्राथमिकता दिन्छन् भन्ने चासो पनि बढेको छ।