काठमाडौं- नेपाल मेडिसिटी हस्पिटलले उपचारका क्रममा एक बालिकामाथि खेलबाड गरिएको र लाखौँ रुपैयाँको बिल उठाइएको भन्ने दाबी सत्यहीन तथा निराधार रहेको स्पष्ट पारेको छ। हालै विभिन्न सञ्चार माध्यम तथा सार्वजनिक मञ्चहरूमा व्यक्त गरिएका अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी यस्तो स्पष्टीकरण दिएको हो।
अभिनेता विपिन कार्कीले आफ्नी छोरीको उपचारका क्रममा मेडिसिटी अस्पतालबाट आफूले हैरानी व्यहोर्नुपरेको आरोप लगाएका थिए। ‘द प्रकाश सुवेदी शो’मा छोरीहरूको तस्वीर देखाउँदै ‘कसरी सम्झिनुहुन्छ?’ भनेर सोधिएको प्रश्नको जवाफ दिने क्रममा कार्कीले छोरीको स्वास्थ्य समस्याबारे अनुभव सुनाएका हुन्।
उनका अनुसार करिब तीन–चार महिनाअघि छोरीमा स्वास्थ्यसम्बन्धी समस्या देखिन थालेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा विभिन्न परीक्षण गरिए पनि पटक–पटक समस्या दोहोरिएको उनले बताए।
कार्कीले अस्पतालमा लाखौं रुपैयाँ खर्च हुने गरी विभिन्न परीक्षण गरिए पनि छोरीको स्वास्थ्यमा अपेक्षित सुधार नआएको दाबी गरे।
कार्कीको उक्त विषय विभिन्न सञ्चार माध्यममा समाचार बनेर आएका छन्।
सोही विषयमा अस्पतालले आफ्ना भनाइ सार्वजनिक गरेको हो। अस्पतालका अनुसार ती बालिकालाई नेपाल मेडिसिटीमा दुई पटक मात्र अल्पकालीन परामर्श तथा उपचारका लागि ल्याइएको थियो। उपलब्ध गराइएका सम्पूर्ण सेवाहरू बापत दुवै पटकको जम्मा खर्च लाखौँ नभई हजारौँमा मात्र सीमित रहेको अस्पतालले जनाएको छ।
जटिल चिकित्सकीय अवस्थाहरूमा तत्काल अन्तिम निदान हुन नसक्ने र निश्चित समयसम्म सावधानीपूर्वक क्लिनिकल मूल्याङ्कन, परीक्षण तथा गहन निगरानीको आवश्यकता पर्ने भन्दै अस्पतालले सत्यतथ्य नबुझी कपोलकल्पित भ्रम फैलाइएको उल्लेख गरेको छ।
स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीप्रतिको जनविश्वासमा आँच पुर्याउने गरी तथ्यहीन समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै अस्पतालले सञ्चार माध्यमहरूलाई पनि सत्यता परीक्षणको उच्च मापदण्ड पालन गर्न अनुरोध गरेको छ। नेपाल मेडिसिटीले बिरामीको सुरक्षा, गुणस्तरीय चिकित्सा सेवा र प्रमाण-आधारित उपचार पद्धतिप्रति आफू सधैँ प्रतिबद्ध रहेको जनाएको छ।
यस्तो छ अस्पतालको विज्ञप्ति
नेपाल मेडिसिटी हस्पिटल प्रत्येक बिरामी र उहाँहरूको व्यक्तिगत अनुभवको सम्मान गर्नमा विश्वास गर्दछ। हामी सार्वजनिक मञ्चहरूमा व्यक्त गरिएका व्यक्तिगत दाबीहरूको साधारणतया खण्डन वा प्रतिक्रिया दिन आवश्यक ठान्दैनौं । तथापि, नेपाल मेडिसिटी हस्पिटलमा उपचार गर्न ल्याईएकी बालिकाको उपचारका सम्बन्धमा भर्खरै विभिन्न सञ्चार माध्यमहरुवाट सार्वजनिक रूपमा सम्प्रेषित अभिव्यक्तिहरूलाई ध्यानमा राख्दै सो विषयलाई बास्तविक सत्यतथ्य रुपमा स्पष्ट पार्नु यस अस्पतालको दायित्व र कर्तव्य समेत भएको हुँदा सो सन्दर्भमा निम्न लिखित विषयहरुवाट स्पष्ट गर्न चाहान्छौँ।
बालिकालाई पटक–पटक भर्ना गरिएको र उपचार बापत लाखौँ रुपैयाँको बिल उठेको भन्ने दाबीहरू तथ्यहीन तथा निराधार छन् । यस अस्पतालको आधिकारिक अभिलेख अनुसार, ती बालिकलाई नेपाल मेडिसिटीमा दुई पटक मात्र अल्पकालीन परामर्श/उपचारका लागि ल्याइएको थियो। उपलब्ध गराइएका सम्पूर्ण सेवाहरू वापत दुवै पटकको जम्मा रकम लाखौँमा नभई हजारौमा मात्र रहेको तथ्य स्पष्ट गर्न चाहान्छौ।
साथै, केही जटिल चिकित्सकीय अवस्थाहरूमा तत्काल अन्तिम निदान हुन नसक्ने र त्यसका लागि निश्चित समयसम्म सावधानी पूर्वक क्लिनिकल मूल्याङ्कन, उपयुक्त परीक्षण तथा गहन निगरानीको आवश्यकता पर्न सक्छ भन्ने कुरामा पनि यस अस्पतालले गम्भिरतापूर्वक ध्यानाकर्षित गराउन चाहन्छौँ।
स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक अभिव्यक्ति तथा छलफलहरू पूर्ण र तथ्यपरक सूचनामा आधारित हुनुपर्दछ भन्ने कुरामा यस अस्पताल पूर्ण विश्वास गर्दछ । जब तथ्य परक र प्रमाणमा आधारित नभई मनगढन्ते रुपमा व्यक्त गरिएका त्यस्ता अभिव्यक्तिहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुप्रतिको जनविश्वासमा असर पार्न सक्छन् । यसका साथै, यस्ता संवेदनशील विषयहरूमा समाचार सम्प्रेषण गर्दा सञ्चार माध्यमहरूले पनि शुद्धता र सत्य तथ्य परीक्षणको उच्च मापदण्ड पालन गर्ने जिम्मेवारी वहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ।
नेपाल मेडिसिटी हस्पिटलमा बिरामीको सुरक्षा, गुणस्तरीय चिकित्सा सेवा र सहानुभूतिपूर्ण हेरचाह नै हाम्रा प्राथमिकताका मूल आधार हुन्। एक अन्तराष्ट्रिय स्तरको अस्पतालको रूपमा यस अस्पतालले विभिन्न विधाका विशेषज्ञहरूलाई एकै छानामुनि राखी जटिल चिकित्सकीय अवस्थाहरूको बहुविषयी पहुँचबाट उपचार प्रदान गर्दै बिरामीहरूले सुरक्षित, प्रमाण–आधारित तथा प्रभावकारी सेवा प्राप्त गर्ने कुरामा यस अस्पताल प्रतिबद्ध छौँ।