काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पाटन अस्पतालमा पहिलो पटक कोर्निया (आँखाको पारदर्शी बाहिरी तह) प्रत्यारोपण गरिएको छ। विश्व दृष्टि दिवसको अवसरमा अस्पतालको आँखा रोग विभागले ६३ वर्षीया महिलामा कोर्निया प्रत्यारोपण गरेको हो।
प्सुडोफ्याकिक बुलस केराटोप्याथी नामक समस्याबाट पीडित ती महिलाको शल्यक्रिया कोर्निया विशेषज्ञ डा. अनिमा देशारको नेतृत्वमा गरिएको हो। यो समस्या आँखामा कृत्रिम लेन्स राखिएको अवस्थासँग सम्बन्धित हुन सक्छ र यसले कोर्नियामा सुन्निने तथा दृष्टि प्रभावित हुने समस्या निम्त्याउन सक्छ।
शल्यक्रियामा डा. देशार मुख्य शल्यचिकित्सकका रूपमा सहभागी थिइन्। साङ्गिरुवा र क्रिस्टीले सहयोगीका रूपमा काम गरेका थिए। त्यस्तै, डा. सुमित सिंह महर्जनले रेट्रोबल्बार ब्लकमार्फत शल्यक्रियाका लागि आवश्यक एनेस्थेसिया सेवा दिएका थिए। शल्यक्रियामा रेजिडेन्ट चिकित्सकहरू डा. प्राप्ति, डा. प्रभा, डा. प्रियंका, डा. निशा र प्रदीप पटेलसहित विभागका अन्य चिकित्सकहरूको पनि सहभागिता थियो।
आँखा रोग विभाग प्रमुख डा. रञ्जना शर्मासहित डा. पवन महत, डा. निशा श्रेष्ठ राजभण्डारी र अन्य चिकित्सकले पनि कोर्निया प्रत्यारोपण सेवा सुरु गर्न महत्त्वपूर्ण योगदान दिएका छन्।
कोर्नियामा गम्भीर क्षति पुगेर दृष्टि प्रभावित भएका बिरामीको उपचारमा प्रत्यारोपण महत्त्वपूर्ण विधि हो। यो सेवा सुरु गर्न सहयोग गरेको भन्दै अस्पतालको टोलीले नेपाल आई बैंक तथा आँखा दान गर्ने दाताप्रति आभार व्यक्त गरेको छ। दाताको आँखा दान गर्ने निर्णय र परिवारको सहयोगले दृष्टिसम्बन्धी समस्या भएका बिरामीको उपचारमा योगदान पुग्ने चिकित्सकहरूको भनाइ छ।
डा. शर्माका अनुसार पाटन अस्पतालमा मोतिबिन्दु, जलबिन्दु, आँखाको पर्दासम्बन्धी समस्या र अन्य जटिल अवस्थाको उपचार तथा शल्यक्रिया सेवा पनि उपलब्ध छ। कोर्निया प्रत्यारोपण सेवा थपिएसँगै अस्पतालबाट उपलब्ध हुने आँखा उपचार सेवाको दायरा विस्तार भएको छ। यसले कोर्नियासम्बन्धी जटिल समस्या भएका बिरामीलाई उपचारका लागि थप विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ।
