काठमाडौं - गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा ठूलो बाढी आउनुका साथै नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा अन्य स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ।
बाढीका कारण जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले बूढीगण्डकी नदी तथा अन्य जोखिममा रहेका नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान र सम्भावित विपद्बाट जोगिन आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
नदीको बहाव बढिरहेको अवस्थामा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।