काठमाडौं- बुढीगण्डकी नदीमा आएको बाढीको जोखिम बढेपछि गोरखाको आरुघाट आधारभूत अस्पतालमा भर्ना भएका बिरामीलाई एम्बुलेन्समार्फत सुरक्षित स्थानमा सारिएको छ।
बाढीको पहिलो र दोस्रो लहरपछि नदी आसपासका बस्तीमा जोखिम बढेसँगै अस्पतालमा भर्ना भएका बिरामीलाई बिहानैदेखि सुरक्षित स्थानमा सार्न थालिएको हो। अस्पतालका सबै कर्मचारीलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सम्बन्धित स्वास्थ्य शाखाले जनाएको छ।
बाढीले जलविद्युत् आयोजनाका संरचना र माछाखोलाको पुल बगाएको प्राप्त विवरणमा उल्लेख छ। धार्चे गाउँपालिकाका नदी किनारका गाउँहरू पनि बाढीले बगाएको जानकारी प्राप्त भएको छ। सूचना संकलन गर्दासम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।
गण्डकी गाउँपालिकाका स्वास्थ्यकर्मी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न खटिएका छन्। आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा पुर्याउन गाउँपालिकाका सवारीसाधन, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका गाडी तथा स्थानीय युवा क्लबहरूले सहयोग गरिरहेका छन्।
यसैबीच, फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू नदीको बाढीबाट तुलनात्मक रूपमा कम जोखिममा रहेको सम्बन्धित स्वास्थ्य शाखाले जानकारी दिएको छ। ती स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तत्काल बाढीको जोखिम कम रहेको जनाइएको छ।