काठमाडौं- स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, आधुनिक उपचार प्रविधिबारे चिकित्सकीय ज्ञान आदानप्रदान तथा सरोकारवालाहरूबीच सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले फ्रन्टलाइन हस्पिटलले ‘एक्सिलेन्स फोरम’ अन्तर्गत निरन्तर चिकित्सकीय शिक्षा (सिएमई) कार्यक्रम सम्पन्न गरेको छ। असोज २३ गते काठमाडौंस्थित सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा विभिन्न विधाका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम सञ्चालन गर्दै फ्रन्टलाइन हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. अशोकवर्द्धनले यस्ता शैक्षिक कार्यक्रमहरूले चिकित्सकीय टोलीबीच ज्ञान आदानप्रदान, आपसी समन्वय र टिम निर्माणलाई थप मजबुत बनाउने बताए। नवीनतम उपचार पद्धति र प्रविधिबारे अद्यावधिक रहँदा चिकित्सकहरूको दक्षता अभिवृद्धि हुनुका साथै बिरामीलाई थप प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
सो क्रममा आधुनिक उपचार प्रविधि र विशेषज्ञतामा आधारित दुई महत्त्वपूर्ण विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रा. डा. अनिल भट्टराईले ‘फ्रन्टलाइन हस्पिटलमा न्यून चिरफार प्रविधिबाट मिट्रल भल्भ शल्यक्रिया’ सम्बन्धी प्रस्तुति दिएका थिए भने प्रा. डा. राजीव राज मानन्धरले ‘आर्थ्रोस्कोपी प्रविधिको उपयोगिता, सीमितता र यसको वास्तविक आवश्यकता’ विषयमा जानकारी गराएका थिए।
प्रस्तुतिपछि सहभागी चिकित्सकहरूबीच नवीनतम चिकित्सा अभ्यास र उपयुक्त उपचार पद्धतिको छनोटका विषयमा छलफल भएको थियो।
अस्पतालका प्रमुख बिजनेस अधिकृत रोशन अधिकारीले फ्रन्टलाइन हस्पिटलले बिरामीकेन्द्रित, सुरक्षित र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै यस्ता शैक्षिक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए। स्वास्थ्य सेवामा उत्कृष्टता हासिल गर्न निरन्तर चिकित्सकीय ज्ञानको विकास, नवीन प्रविधिको प्रयोग र सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो।