काठमाडौं- अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिना अर्थात् ‘पिंक अक्टोबर’ का रूपमा मनाइने सन्दर्भमा रक्षा क्यान्सर केयर सोसाइटीको आयोजनामा काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली सम्पन्न भएको छ। स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाउने र समयमै परीक्षणको महत्त्व बुझाउने उद्देश्यले आयोजित उक्त र्यालीमा विभिन्न सङ्घसंस्थाका करिब ७०० जनाभन्दा बढीको सहभागिता रहेको थियो।
भृकुटीमण्डपबाट सुरु भएको र्यालीको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा स्तन क्यान्सर विजेताद्वय वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ गायिका तारा थापाले संयुक्त रूपमा गरेका थिए।
सचेतनालाई अझ प्रभावकारी र प्रभावकारी रूपमा जनमानसमा फैलाउन र्यालीको क्रममा धरहराको चारकुनाबाट गुलाबी रङको कपडा फहराइएको थियो। विभिन्न सचेतनामूलक सन्देशसहित अघि बढेको र्याली वसन्तपुर दरबार क्षेत्रमा पुगी कोणसभा तथा मन्तव्यसहित समापन भएको थियो।
कार्यक्रममा बोल्दै रक्षा क्यान्सर केयर सोसाइटीकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिले पछिल्लो समय बढ्दै गइरहेको स्तन क्यान्सर समयमै पत्ता लागेर उपचार भएमा पूर्णरूपमा निको हुने बताइन्।जनमानसमा सचेतना अभिवृद्धि गर्न सके यस रोगबाट बच्न र जोगाउन सकिने उनको भनाइ थियो। साथै, संस्थाले सचेतनासँगै सहभागी तथा अन्य महिलाहरूका लागि निःशुल्क मेमोग्राफी (स्तन क्यान्सर परीक्षण) सेवा पनि प्रदान गर्दै आएको उनले जानकारी दिइन्।
उक्त सचेतना र्यालीमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, इनरविल डिस्ट्रिक्ट ३५० का पदाधिकारीहरू, क्यान्सर सर्भाइभरहरू (विजेताहरू), लोकप्रिय गायक धीरज राई, कलाकार तथा गायक यमन श्रेष्ठ, मिस नेपाल वर्ल्ड दीपमाला ढकाल तथा विभिन्न राष्ट्रिय खेलाडीहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।