काठमाडौं- जेनजी आन्दोलनसँग जोडिएकी तनुजा पाण्डेले आफू चार वर्षदेखि ब्रेन ट्युमरसँग जुधिरहेको खुलासा गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै जीवनप्रति कृतज्ञता व्यक्त गरेकी हुन्।
पाण्डेले ब्रेन ट्युमरसँग बिताएका चार वर्षलाई चारवटा जाडो, वसन्त, गर्मी र ऋतु परिवर्तनसँग तुलना गर्दै हरेक सास आफ्ना लागि जितजस्तै भएको उल्लेख गरेकी छन्।
‘चार वर्षदेखि मेरो मस्तिष्कमा रहेको ट्युमरसँगै जीवन बिताइरहेकी छु। शरीरभित्र एउटा मौन बोझ बोकेर पनि हरेक सासलाई एउटा सानो विजयका रूपमा महसुस गरिरहेकी छु,’ उनले लेखेकी छन्।
अहिले पनि जीवनका हरेक अनुभूति महसुस गर्न पाएकोमा उनले आभार व्यक्त गरेकी छन्। उनले आफ्नो पोस्टमा ‘ट्युमर : शून्य, तनुजा : चारदेखि अनन्तसम्म’ भन्दै आफूलाई सकारात्मक रूपमा प्रस्तुत गरेकी छन्।
पाण्डेले आफ्नो सन्देशमा ब्रेन ट्युमरलगायत रोगसँग जुधिरहेका विश्वभरका व्यक्तिहरूप्रति ऐक्यबद्धता पनि जनाएकी छन्।
तर, उनले ब्रेन ट्युमरको प्रकार, उपचार प्रक्रिया र पछिल्लो स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी भने सार्वजनिक गरेकी छैनन्।