काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मेडिकल व्यवसायी डा. सुनिलकुमार शर्मा ७३ मतले पराजित भएका छन्। खुलातर्फ महामन्त्री पदमा प्रतिस्पर्धा गरेका शर्माले २ हजार २५७ मत प्राप्त गर्दा निर्वाचित उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे।
निर्वाचनको परिणाम सार्वजनिक भएपछि डा. शर्माले आफ्नो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्प कमजोर नभएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत महाधिवेशनमा आफूलाई मत दिने प्रतिनिधि, चुनावी अभियानमा खटिने नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।
‘निर्वाचनको परिणामले मेरो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्पलाई कमजोर बनाएको छैन। बरु, यसले अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा दिएको छ,’ शर्माले भनेका छन्।
उनले आफ्नो उम्मेदवारी पद प्राप्तिको आकांक्षा मात्र नभई नेपाली कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्प भएको उल्लेख गरेका छन्। पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउने तथा लोकतान्त्रिक मूल्य–मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
डा. शर्माले पदमा रहेर वा नरहेर पनि पार्टी र देशका दूरदराजमा बसोबास गर्ने नागरिकको सेवामा समर्पित रहने बताएका छन्। कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि आफ्नो सक्रियता निरन्तर रहने उनको भनाइ छ।
उनले महामन्त्री पदको प्रतिस्पर्धामा आफूलाई साथ र समर्थन दिने देश–विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताएका छन्। निर्वाचनमा प्रतिस्पर्धा गरेका सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गर्दै पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन्। पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दा राणाले २ हजार ३३० मत प्राप्त गरेका हुन्। महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएकी छन्।