अमेरिका — नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या गरेको र शव लुकाएको आरोपमा श्रीमान् नरेश भट्टविरुद्ध अमेरिकाको भर्जिनियामा चलिरहेको मुद्दाको पहिलो साता आमासहितका साक्षीको बयानसँगै सकिएको छ। सन् २०२४ को गर्मीयाममा बेपत्ता भएकी २८ वर्षीया ममता अहिलेसम्म फेला परेकी छैनन्।
प्रिन्स विलियम काउन्टीमा जारी सुनुवाइमा अभियोजन पक्षले नरेशले योजनाबद्ध रूपमा पत्नीको हत्या गरेको दाबी गरेको छ। तर, प्रतिरक्षा पक्षले अभियोजनले वास्तविक प्रमाणभन्दा अनुमान र अड्कलबाजीका आधारमा मुद्दा अघि बढाउन खोजेको तर्क गरेको छ।
ममताकी आमा गीता काफ्लेले बिहीबार दोभाषेमार्फत अदालतमा बयान दिएकी छन्। नेपालमा रहेकी उनले छोरीसँग दैनिक भिडियो कलमा कुराकानी गर्ने गरेको बताइन्। छोरीसँग सम्पर्क हुन छाडेपछि उनले दुई दिनसम्म नरेशलाई फोन गरेको र पछि नरेशले भ्वाइसमेल छाडेपछि पुनः सम्पर्क भएको बताइन्। अभियोजन पक्षले ममताले आफूलाई जानकारी नदिई घर छाडेर जाने सम्भावना थियो कि थिएन भनेर सोध्दा उनले त्यस्तो नगर्ने जवाफ दिइन्।
ममताकी नजिककी साथी सरिता न्यौपानेले पनि अदालतमा बयान दिएकी छन्। उनका अनुसार ममता बेपत्ता हुनुभन्दा केही महिनाअघि दुई साताभन्दा बढी समय उनको घरमा बसेकी थिइन्। ममताले श्रीमान्सँग झगडा भएको र नरेशले आफूलाई कुटपिट गरेको बताएको सरिताको भनाइ छ। ममताले देखाएको भिडियोमा आफ्नो अनुहारमा नीलडाम देखेको पनि उनले बताइन्। तर, प्रतिपरीक्षणका क्रममा उनले नरेशले ममतालाई कुटपिट गरेको घटना आफूले प्रत्यक्ष नदेखेको स्पष्ट पारिन्।
ममता दुई दिनसम्म काममा नआएपछि र सम्पर्कमा पनि नआएपछि उनकी नर्सिङ व्यवस्थापक जेसिका हरासेकले प्रहरीलाई खबर गरेकी थिइन्। सुनुवाइका क्रममा प्रहरीले नरेशसँग गरेको कुराकानीका बडीक्याम भिडियोसमेत देखाइएको थियो। एउटा भिडियोमा नरेशले फोन स्पिकरमा राख्दा आफन्तले ममताले ११ महिनाको बच्चालाई छाडेर नजाने भन्दै चिन्ता व्यक्त गरेको सुनिन्छ।
प्रहरी अधिकारी क्लाउडिया भेन्टुराले नरेशसँगको पहिलो भेटमा आफूलाई केही गडबड भएको महसुस भएको र थप अनुसन्धान गर्नुपर्ने ठानेको बयान दिएकी छन्। मुद्दाको पहिलो सातामा ११ महिला र ६ पुरुष गरी १७ जना जुरी सदस्य छनोट गरिएको छ। तीमध्ये पाँच जना वैकल्पिक सदस्य हुन्, तर उनीहरूलाई आफू वैकल्पिक सदस्य भएको जानकारी दिइएको छैन।
नरेश भट्टमाथि लागेको हत्या र शव लुकाएको आरोपको अन्तिम फैसला अदालतबाट हुन बाँकी छ। प्रतिरक्षा पक्षले आरोपमा शङ्का गर्ने पर्याप्त आधार रहेको दाबी गरिरहेको छ।