काठमाडौं- भोटेकोसी बाढीबाट प्रभावित भई उद्धार गरिएका सात जना ज्येष्ठ नागरिकहरूलाई काठमाडौंको म्हेपीस्थित नेपाल सिनियर केयरले साढे एक महिनासम्म निःशुल्क सेवा-स्याहार प्रदान गरी ससम्मान बिदाइ गरेको छ।
नुवाकोटको विदुर नगरपालिका–५ स्थित देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानबाट ल्याइएका ती वृद्ध आमाबुबाहरूलाई नेपाल सिनियर केयरले गत भदौ १५ देखि असोज २६ गतेसम्म निःशुल्क आवास, स्वास्थ्य सेवा तथा दैनिक हेरचाह उपलब्ध गराएको थियो। सेवा अवधि पूरा भएसँगै एक विशेष कार्यक्रमका बीच उनीहरूलाई पुनः देविघाट आश्रममै फिर्ता पठाउन ससम्मान बिदाइ गरिएको हो।
बिदाइ हुनेहरूमा मुगामाया श्रेष्ठ, पुतलीमाया तामाङ, पासाङ तेम्बा शेर्पा, कृष्ण प्रसाद पुडासैनी, गोमा तामाङ, राम बहादुर मगर र हर्कलाल श्रेष्ठ छन्।
बिदाइ कार्यक्रमका अवसरमा नेपाल सिनियर केयर र सार नेपाल फाउन्डेसनको संयुक्त सहयोगमा ज्येष्ठ नागरिकहरूका लागि आवश्यक ह्विलचेयर, औषधि, लत्ताकपडा तथा विभिन्न राहत सामग्रीहरूसमेत हस्तान्तरण गरिएको छ।
कार्यक्रममा बोल्दै देविघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद नेपालले हाल नुवाकोटस्थित देविघाट वृद्धआश्रममा २९ जना आमाबुबाहरू आश्रित रहेको जानकारी गराए। बाढीको कठिन समयमा काठमाडौँ ल्याएर उत्कृष्ट सेवा तथा स्याहार प्रदान गरेकोमा उनले नेपाल सिनियर केयरप्रति आभार व्यक्त गरे।
नेपाल सिनियर केयरकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) आरती पौडेलका अनुसार यस केन्द्रले दीर्घ रोगी, पक्षघात (प्यारालाइसिस), अल्जाइमर्स, डिमेन्सिया तथा शारीरिक अशक्तता भएका बिरामीहरूका लागि उच्चस्तरीय उपचार, हेरचाह र पुनर्स्थापना सेवा प्रदान गर्दै आएको छ। विपत्तिको बेला सामाजिक उत्तरदायित्व वहन गर्दै बाढी प्रभावित ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सेवा दिन पाउँदा संस्था गौरवान्वित भएको उनले बताइन्।