काठमाडौं- सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायहरूले निगरानी र नियमनमा जोड दिएका छन्।
पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठक बसेपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकहरूलाई स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्रै गाडी रोक्न निर्देशन दिएको छ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘खाद्य स्वच्छता स्टिकर’ टाँसिएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन चालकहरूलाई भनिएको छ।
खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही गरी उपलब्ध गराइएको खाना खाँदा यात्रु बिरामी परेको पाइएमा सम्बन्धित सवारी चालक र होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले सार्ववजनिक सूचना जारी गर्दै जानकारी दिएको छ।
त्यस्तै, खाना तथा खाजाको स्वच्छता र गुणस्तरमा कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको नम्बर १०० मा सम्पर्क गरी जानकारी गराउन सक्ने सूचनामा उल्लेख छ। यसका साथै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका मातहतका कार्यालयहरूमा समेत सोझै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको विभागले जनाएको छ।