काठमाडौं — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्वास्थ्य श्री ब्रान्डको तोरीको तेल न्यूनस्तरको पाइएको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ। विभागले सम्बन्धित उत्पादकलाई उक्त तेलको तोकिएको ब्याचका सबै उत्पादन बजारबाट फिर्ता लिन र बिक्री वितरण नगर्न आदेश दिएको हो।
विभागले २०८३ असोज २८ गते जारी गरेको खाद्य पदार्थ फिर्ता (रिकल) सम्बन्धी सूचनाअनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरिएको नमुना प्रयोगशालामा परीक्षण गर्दा तोरीको तेल न्यूनस्तरको पाइएको हो।
विभागका अनुसार स्वास्थ्य श्री ब्रान्डको एक लिटरको उक्त तोरीको तेलको ब्याच नम्बर आरपी ०५ (RP 05) रहेको छ। यसको उत्पादन मिति सन् २०२६ सेप्टेम्बर १ हो। उत्पादनको उपभोग्य अवधि नौ महिना रहेको सूचनामा उल्लेख छ।
उक्त तेल चितवनको खैरहनी–२ स्थित रिलायबल नेपाल एग्रो लिमिटेडले उत्पादन गरेको हो। विभागले सम्बन्धित उत्पादकलाई उक्त ब्याचका सबै खाद्य पदार्थ बजारबाट तत्काल फिर्ता लिन तथा बिक्री वितरण नगर्न वा नगराउन निर्देशन दिएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम विभागले यस्तो आदेश जारी गरेको हो। सोही दफाको उपदफा (४) अनुसार उक्त खाद्य पदार्थको बिक्री वितरण नगर्न निर्देशन दिइएको विभागको सूचनामा उल्लेख छ।
विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको उक्त तेलमा कुन मापदण्ड वा गुणस्तरसम्बन्धी सूचक पूरा नभएको हो भन्नेबारे सूचनामा विस्तृत विवरण खुलाएको छैन। त्यसैले तेलमा कुन तत्त्व वा गुणस्तरसम्बन्धी समस्या देखिएको हो भन्ने स्पष्ट हुन सकेको छैन।
विभागले तोकिएको ब्याचको तेल बजारबाट फिर्ता लिन निर्देशन दिएसँगै सम्बन्धित उत्पादक तथा बिक्री वितरणमा संलग्न पक्षले आदेश पालना गर्नुपर्नेछ।