काठमाडौ- औषधि व्यवस्था विभाग (डीडीए) ले मापदण्डविपरीत नयाँ उत्पादन वा आयात गरिएका इम्युनोसप्रेसेन्ट औषधिको प्रयोगबाट प्रतिकूल असर परेमा त्यसको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने स्पष्ट पारेको छ। विभागले त्यस्ता औषधि उपलब्ध गराउने (आयात/उत्पादक) वा प्रयोग गराउने निकाय तथा व्यक्ति(चिकित्सक)लाई जिम्मेवार हुने चेतावनी दिएको हो।
विभागले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा तोकिएको समयभित्र जोखिम मूल्याङ्कनसम्बन्धी कागजात पेस नगरेका वा निर्धारित मापदण्ड पूरा नगरेका ४७ ब्रान्डका औषधिको नयाँ उत्पादन तथा आयातमा रोक लगाइएको जनाएको छ। विभागले यस्ता औषधिका दर्ता प्रमाणपत्रसमेत खारेज हुने जनाएको छ।
विभागका अनुसार नयाँ उत्पादन तथा आयातमा लगाइएको रोकलाई बजारमा पहिले नै उपलब्ध औषधिको बिक्री–वितरणमा प्रतिबन्ध लगाइएको रूपमा बुझ्नु गलत हो। बजारमा उपलब्ध औषधिको बिक्री–वितरण तथा प्रयोगमा कुनै रोक नलगाइएको विभागले स्पष्ट पारेको छ।
अङ्ग प्रत्यारोपण गरेका तथा दीर्घकालीन रोग भएका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधिको आपूर्तिमा अभाव हुन नदिन आवश्यक समन्वय भइरहेको विभागले जनाएको छ। जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक रहेका उद्योग तथा आयातकर्तालाई बजारमा आपूर्तिको सन्तुलन कायम गर्न बढीमा तीन महिनासम्म उत्पादन तथा आयात गर्न अनुमति दिई प्रमाणपत्र नवीकरण गरिएको विभागको भनाइ छ।
औषधिको गुणस्तर तथा सुरक्षा सुनिश्चित गर्न र एउटा औषधिको प्रभाव अर्को औषधिमा पर्न सक्ने जोखिम अर्थात् क्रस-कन्टामिनेसन न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक व्यवस्था लागू गरिएको विभागले जनाएको छ। विश्व स्वास्थ्य संगठनको प्राविधिक मापदण्डअनुसार जोखिम व्यवस्थापन, सफाइ प्रमाणीकरण, छुट्टै हावा आवतजावत प्रणाली तथा स्वास्थ्यमा आधारित जोखिम सीमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ।
विभागले जोखिमको प्रकृतिअनुसार सम्बन्धित औषधि छुट्टै उत्पादन सुविधामा उत्पादन गर्नुपर्ने व्यवस्था पनि लागू गरेको जनाएको छ। औषधिको उत्पादन, गुणस्तर र सुरक्षासम्बन्धी मापदण्ड पूरा गराउनु यस व्यवस्थाको मुख्य उद्देश्य रहेको विभागको भनाइ छ।
औषधिको सहज उपलब्धता सुनिश्चित गर्न नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि आयातकर्ता संघ तथा नेपाल औषधि व्यवसायी संघसँग समन्वय भइरहेको विभागले जनाएको छ। यससम्बन्धी मापदण्ड र आवश्यक व्यवस्थाबारे विभागले यसअघि नै २०८३ वैशाख १५ र जेठ २१ गते सार्वजनिक सूचना जारी गरेको थियो।
विभागले बिरामीलाई चिकित्सकको परामर्शअनुसार बजारमा उपलब्ध औषधि नियमित सेवन गर्न आग्रह गरेको छ। बजारमा औषधिको अभाव भएको वा उपलब्ध औषधिको बिक्री–वितरण बन्द गरिएको भन्ने भ्रामक सूचनाको पछि नलाग्न पनि विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।
इम्युनोसप्रेसेन्ट औषधि शरीरको प्रतिरक्षा प्रणालीको गतिविधि दबाउन प्रयोग गरिन्छ। विशेषगरी अङ्ग प्रत्यारोपणपछि प्रत्यारोपित अङ्गलाई शरीरले अस्वीकार गर्ने जोखिम कम गर्न तथा केही दीर्घकालीन रोगको उपचारमा यस्ता औषधि प्रयोग गरिन्छ। त्यसैले चिकित्सकको सल्लाहबिना यस्ता औषधि सेवन गर्न बन्द गर्नु वा औषधि परिवर्तन गर्नु जोखिमपूर्ण हुन सक्छ।