काठमाडौं- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्।
विश्वविद्यालयको खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका डा. धामीले चिकित्सा शिक्षा, अनुसन्धान, शैक्षिक नेतृत्व तथा सार्वजनिक प्रशासनका क्षेत्रमा अनुभव हासिल गरेका छन्।
बझाङको छविसपाथिभेरा गाउँपालिका–५, थलारा निवासी डा. धामीले क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी गरेका छन्। उनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर (एमपीए) समेत अध्ययन गरेका छन्।
डा. धामीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक तथा रेक्टरका रूपमा काम गरेका उनले विभिन्न अवधिमा निमित्त उपकुलपतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
डडेल्धुरालाई स्वास्थ्य शिक्षा तथा अनुसन्धानको केन्द्र बनाउने लक्ष्य
डा. धामीको प्राज्ञिक रुचि चिकित्सा शिक्षा, औषधिको तर्कसंगत प्रयोग, औषधि सुरक्षा, एन्टिमाइक्रोबियल प्रतिरोध तथा स्वास्थ्य अनुसन्धानमा केन्द्रित छ।
डडेल्धुरा अस्पतालसँगको सहकार्य सुदृढ गर्दै गुणस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन, दक्ष शिक्षकको व्यवस्थापन, आधुनिक पूर्वाधारको विकास तथा स्थानीय स्वास्थ्य समस्यामा आधारित अनुसन्धान प्रवर्द्धन गर्नु संकायका प्रमुख प्राथमिकता हुनेछन्।
गुणस्तरीय स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान तथा नवप्रवर्तनलाई एकीकृत गर्दै डडेल्धुरालाई क्षेत्रीय स्वास्थ्य शिक्षा तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सम्भावना छ। डा. धामीको शैक्षिक तथा प्रशासनिक अनुभव, पारदर्शी सुशासन र सामूहिक प्रयासबाट संकायको शैक्षिक गुणस्तर अभिवृद्धि हुनुका साथै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको डीनमा सहप्राध्यापक डा. शिवप्रसाद सापकोटा, शिक्षाशास्त्र संकायको डीनमा सहप्राध्यापक डा. नाथुराम चौधरी, विज्ञान तथा प्रविधि संकायको डीनमा सहप्राध्यापक डा. प्रेमसिंह साउद र मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्राध्यापक डा. राजेन्द्रप्रसाद भट्ट नियुक्त भएका छन्।
त्यसैगरी, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको निर्देशकमा सहप्राध्यापक डा. महेन्द्रराज जोशी, भाषा, साहित्य तथा संस्कृति केन्द्रको निर्देशकमा प्राध्यापक डा. हरिचन्द्र भट्ट र केन्द्रीय क्याम्पसको प्रिन्सिपलमा डा. दीपकचन्द्र भट्ट नियुक्त भएका छन्।