कञ्चनपुर - महेन्द्रनगरमा रहेको महाकाली अञ्चल आयुर्वेद औषधालयले एलोपेथी सेवापनि सुरु गरेको छ। अस्पतालमा नयाँ चिकित्सकको दरबन्दी थप भएपछि अस्पतालले एलोपेथी सेवापनि सुरु गरेको हो।
अस्पतालले सामान्य शल्यक्रिया पनि शुरुवात गरेको छ। घाउको ड्रेसिङ, स्ट्रेचिङका साथै सामान्य शल्यक्रियाको कार्य अहिले औषधालयबाटै हुने गरेको अस्पतालका चिकित्सक डा अर्जुन उपाध्यायले बताए।
यसअघि औषधालयबाट बिरामीलाई परामर्शमात्र दिने गरिन्थ्यो। एलोपेथी सेवा सुरु भएपछि औषधालयमा बिरामीको चाप बढ्न थालेको डा उपाध्यायको भनाई छ। दैनिक एक–दुईजना मात्रै बिरामी आउने अस्पतालमा हाल २० देखि ३० जना बिरामी आउन थालेका छन्।