धनुषा- धनुषाको ढल्केवरमा निर्माण गर्ने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आयोजना कार्यान्वयन हुनेमा अब कुनै अन्योल नरहेको बताउँदै निर्माण प्रक्रिया अगाडि बढिसकेको जानकारी दिएकी छन्।
आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित स्थलको निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भई पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको बताइन्। आवश्यक प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माण कार्य सुरु हुने उनको भनाइ छ।
‘ट्रमा सेन्टर बन्छ कि बन्दैन भन्ने अन्योल अब राख्नुपर्दैन । यो आयोजना सरकारको बहुवर्षीय योजनामा समावेश भइसकेको छ,’ उनले भनिन्।
निर्माणस्थलको निरीक्षणबाट आवश्यक तयारी उपयुक्त देखिएको उल्लेख गर्दै मन्त्री मेहताले छिट्टै शिलान्यास हुने विश्वाससमेत व्यक्त गरिन्।
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको चर्चा लामो समयदेखि हुँदै आए पनि काम सुरु हुन नसक्दा स्थानीयवासीले आयोजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गर्दै आएका छन्। दुर्घटनाका घाइते तथा गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउन ट्रमा सेन्टर आवश्यक रहेको स्थानीयको भनाइ छ।
निरीक्षणका क्रममा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोले पनि निर्माण प्रक्रिया छिटो अघि बढाउन मन्त्रीको ध्यानाकर्षण गराए। उनले लामो समयदेखि आश्वासन पाउँदै आएका स्थानीयवासीलाई विश्वास दिलाउन अब भवन निर्माणको काम सुरु गर्नुपर्ने बताए।
‘ट्रमा सेन्टरका नाममा यहाँका नागरिक लामो समयदेखि आश्वासन पाउँदै आएका छन्। अब आश्वासनले मात्र चित्त बुझाउने अवस्था छैन। भवन निर्माण सुरु भएपछि मात्रै विश्वास जाग्छ,’ उनले भने।