काठमाडौं– नार्कोटिक तथा साइकोट्रोपिक औषधिको अनियन्त्रित बिक्री–वितरण र प्रयोगलाई लिएर पछिल्लो समय प्रहरीले गरेका कारबाही चर्चामा छन्। एक साताभित्र पोखरामा फार्मेसी सञ्चालिका पक्राउ पर्नु तथा काठमाडौं र सुनसरीमा ट्रामाडोल चक्कीसहित व्यक्ति पक्राउ परेका घटनाले औषधि बिक्री–वितरणको नियमन र कानुनी व्यवस्थाबारे बहस सृजना छ।
पोखरामा फार्मेसी सञ्चालिका पक्राउ परेपछि औषधि व्यवसायीका केही समूहले औषधि बिक्री गरेकै आधारमा पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए। तर, कास्की प्रहरीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिबन्धित तथा मनोद्वीप औषधि बिक्री भइरहेको सूचनाका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको स्पष्ट पारेको छ। प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो, तर कसुर प्रमाणित भएको होइन। प्रेस्क्रिप्सन तथा आवश्यक कागजात पूरा गरेको खण्डमा सफाइ पाउने सम्भावना रहन्छ।
कास्कीको पोखरा महानगरपालिका–२६, कालिकाचोकस्थित जलधारे फार्मेसीकी सञ्चालिका २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले फार्मेसीमा जाँच गरेको थियो।
प्रहरीका अनुसार फार्मेसीबाट चार प्रकारका औषधिका कुल सात हजार १६० चक्की बरामद भएका थिए। तीमध्ये कोडिप–पी (कोडिनयुक्त औषधि) ६ हजार ४०० चक्की, प्रिगाभालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डायजेपोक्साइड १६० चक्की रहेका छन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ बाट प्रहरीले ट्रामाडोल चक्कीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गणेश श्रेष्ठ र अनिस केसी छन्। उनीहरूका साथबाट ट्रामाडोलका एक हजार ३१० चक्की बरामद भएको उल्लेख छ।
यसैगरी, यही हप्ता सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट सिजन माझी र सरोज माझीलाई नियन्त्रणमा लिइएको र उनीहरूबाट ट्रामाडोलका ३०० चक्की बरामद भएको उल्लेख छ।
यी औषधि किन नियन्त्रणमा राखिन्छन्?
नार्कोटिक तथा साइकोट्रोपिक औषधि चिकित्सकीय प्रयोजनमा आवश्यक पर्न सक्छन्। तर, यस्ता औषधिको प्रयोगमा मात्रा, अवधि, बिरामीको अवस्था र अन्य औषधिसँगको अन्तरक्रिया महत्त्वपूर्ण हुन्छ। चिकित्सकको मूल्याङ्कनबिना प्रयोग गर्दा निर्भरता, अत्यधिक निद्रा, श्वासप्रश्वासमा समस्या, दुर्घटना तथा अन्य गम्भीर असरको जोखिम हुन सक्छ।
चिकित्सकीय आवश्यकताअनुसार सही मात्रा र अवधिमा प्रयोग गर्नु तथा बिक्री–वितरणमा उचित निगरानी राख्नु आवश्यक हुन्छ।
नियन्त्रित नार्कोटिक तथा साइकोट्रोपिक औषधिको सूची
औषधि व्यवस्था विभाग (डीडीए) को प्रकाशित सूचीअनुसार नार्कोटिक समूहमा ९ वटा, साइकोट्रोपिक अनुसूची–३ मा ४ वटा र अनुसूची–४ मा १८ वटा औषधि उल्लेख छन्। विभागको औषधि बुलेटिनले ट्रामाडोल र टापेन्टाडोललाई पनि २०८१ जेठ ७ को नेपाल राजपत्रको सूचनामार्फत नियन्त्रित सूचीमा समावेश गरिएको जनाएको छ।

कानुनले के भन्छ?
नेपालमा औषधिको उत्पादन, बिक्री–वितरण र प्रयोगलाई नियमन गर्ने प्रमुख कानुनी आधारमध्ये औषधि ऐन, २०३५ र लागूऔषधसम्बन्धी विषयमा लागू औषध (नियन्त्रण) ऐन, २०३३ पर्छन्।
औषधि ऐन, २०३५ को दफा १० अनुसार औषधि बिक्री–वितरण गर्ने व्यक्ति तथा पसल वा फर्म विभागमा दर्ता भई प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ। दफा १७ ले चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नहुने भनी समूहकृत गरिएका औषधि प्रेस्क्रिप्सनबिना बिक्री गर्न रोक लगाउँछ। दफा १८ ले यस्तो व्यवस्थाविपरीत बिक्री–वितरणलाई औषधिको अनुचित प्रयोग वा दुरुपयोग मानेको छ। ऐनको दफा ३३ ले तोकिएका लागू तथा विषालु औषधि सुरक्षित राख्न, बिक्रीको अभिलेख राख्न र चिकित्सकको प्रेस्क्रिप्सन अभिलेखसँगै राख्नुपर्ने व्यवस्था गर्छ।
लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ ले ऐनले परिभाषित गरेका लागूऔषधको बिक्री–वितरणलगायतका कार्य निषेध गरेको छ। तर, दफा २३क मा तोकिएका लागूऔषध तथा मनोद्दीपक पदार्थका ट्याब्लेट, क्याप्सुल र इन्जेक्सनजस्ता औषधीय स्वरूपको उत्पादन, बिक्री–वितरण, आयात–निर्यात, सञ्चय र सेवनसम्बन्धी व्यवस्था औषधि ऐन, २०३५ बमोजिम हुने उल्लेख छ। त्यसैले कुन औषधि, कुन स्वरूपमा, कुन प्रयोजनले र कुन कानुनी व्यवस्थाअन्तर्गत कारोबार भएको हो भन्ने आधारमा आरोप तथा कानुनी कारबाही फरक पर्न सक्छ।
यसकारण प्रेस्क्रिप्सनबिना औषधि बिक्री गरेको प्रत्येक घटनामा स्वतः लागूऔषध कारोबारको मुद्दा लाग्छ भन्न मिल्दैन। औषधिको कानुनी वर्गीकरण, बिक्रीसम्बन्धी अनुमति, अभिलेख, कारोबारको प्रकृति र अनुसन्धानबाट खुलेका तथ्यका आधारमा सम्बन्धित कानुन लागू हुन्छ। अनुसन्धानका क्रममा पक्राउ पर्नु र अदालतबाट दोषी ठहरिनु पनि फरक अवस्था हुन्।