मलंगवा- स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन हुँदा २० जना कर्मचारीले साउनदेखि तलब नपाएको गुनासो गरेका छन्। कार्यालय प्रमुख नहुँदा तलब निकासीलगायतका प्रशासनिक काम प्रभावित भएको कर्मचारीहरूको भनाइ छ।
गत असोज १९ गते कार्यालय प्रमुख रहेका नवलकिशोर झा ११औँ तहमा बढुवा भएर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयमा गएपछि स्वास्थ्य कार्यालय मलंगवा प्रमुखविहीन बनेको हो। त्यसयता प्रदेश सरकारले कार्यालयको नेतृत्व सम्हाल्ने गरी कसैलाई पनि प्रमुख तोकेको छैन।
कार्यालयमा दरबन्दीका १४ र करारका ६ गरी २० जना कर्मचारी कार्यरत छन्। प्रमुख नहुँदा उनीहरूले साउनदेखि नै तलब नपाएको गुनासो गरेका छन्।तलब नपाएको र अन्य काम प्रभावित भएको समस्याबारे मधेश प्रदेश सरकारलाई समेत जानकारी गराउँदा सुनुवाइ नभएको कर्मचारीहरूले बताएका छन्।
कर्मचारीहरूका अनुसार कुनै पनि कार्यालय लामो समयसम्म प्रमुखविहीन राख्न नहुने व्यवस्था भए पनि त्यसको बेवास्ता गरिएको छ। कार्यालय प्रमुखको जिम्मेवारी रिक्त भएको १५ दिनभन्दा बढी समयसम्म पनि पदपूर्ति नहुँदा कर्मचारीले सास्ती भोग्नुपरेको उनीहरूको भनाइ छ।
कार्यालयको दैनिक प्रशासनिक काम र कर्मचारीको तलब भुक्तानी सहज बनाउन तत्काल नेतृत्वको व्यवस्था गर्नुपर्ने माग कर्मचारीहरूले गरेका छन्। उनीहरूले कार्यालयभित्रै कार्यरत वरिष्ठ कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिनुपर्ने वा प्रदेश सरकारले नयाँ प्रमुख पठाउनुपर्ने बताएका छन्।