वीरगन्ज - सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुनी प्रावधान, महत्व र समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित गर्भपतन सेवासम्बन्धी अभिमुखीकरण तालिम’ वीरगन्जमा सम्पन्न भएको छ।
आइपास नेपाल, सुरक्षित मातृत्व सञ्जाल महासङ्घ तथा विकास नेपाल वीरगन्जको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साद्वारा आयोजित उक्त दुईदिने अभिमुखीकरण तालिममा जिल्लास्थित महिला तथा बालबालिका, कर्मचारी, सामाजिक परिचालिका र समुदायमा कार्यरत गरी ३२ जना महिलाको सहभागिता थियो।
उक्त तालिममा महिलाको प्रजनन् स्वास्थ्य अधिकार, परिवार नियोजनका साधन र सेवा, अनिच्छित गर्भ रहनुका कारण, असुरक्षित गर्भपतन र यसबाट हुनसक्ने खतरा, सुरक्षित गर्भपतन सेवा र यसका कानुनी व्यवस्था, सुरक्षित गर्भपतन सेवा प्राप्त गर्ने ठाउँ, यो सेवा लिइसकेपछि महिलाले ध्यान दिनुपर्ने कुरा तथा सुरक्षित गर्भपतन सेवामा महिला विकास कार्यालयका कर्मचारी तथा सामाजिक कार्यकर्ताको भूमिकालगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका वरिष्ठ जनस्वास्थ्य अधिकृत अरुणकुमार महतोले असुरक्षित गर्भपतन गराउँदा महिलाको पाठेघर सङ्क्रमण हुने, पाठेघरमा चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउनसक्ने, महिलामा बाँझोपन हुनसक्ने र महिलाको मृत्युसमेत हुनसक्ने भएकाले सकभर गर्भपतन गराउन नहुने र गराउनै परे पनि सुरक्षित गर्भपतन गराउनुपर्नेमा जोड दिए।