चितवन - चितवनमा जोखिम समुदायका मानिसहरुबाट एचआइभी परिक्षणमा गर्ने दर बढ्दै गएको छ। जसका कारण पछिल्लो दुई महिनामा भरतपुर अस्पतालमा १६ जना सङ्क्रमित फेला परेका छन्। सङ्क्रमितहरु समाजमा खुल्न थालेकाले सङ्क्रमितको सङ्ख्या बाहिर आएको एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) का कार्यक्रम संयोजक कृष्णहरि देवकोटाले बताए।
चितवनमा यस वर्षमात्रै ३८ जना सङ्क्रमित खुलेर बाहिर आएका छन्। पुस १५ देखि फागुन १५ सम्म भरतपुर अस्पतालमा गरिएको रक्त परीक्षणमा १६ जना र त्यसअघिको घुम्ती रक्त परीक्षण शिविरबाट २२ जना सङ्क्रमित फेला परेका हुन्।
चितवम जिल्लामा सङ्क्रमितहरुको सङ्ख्या एक हजार नाघेको अनुमान छ। अहिले कुल ५०० सङ्क्रमितले एआरटी सेवा लिइरहेका छन्। चितवनमा भरतपुर अस्पतालमा मात्रै एआरटी सेवा उपलब्ध रहेको छ। चितवनमा यो वर्ष छ जना सङ्क्रमितले ज्यान गुमाएको तथ्याङ्क छ।