काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले सनसनीपूर्ण जित निकालेको छ। डाविड मलानको अर्धशतक र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो। जितसँगै चितवनले प्रतियोगितामा महत्त्वपूर्ण सफलता हात पारेको छ।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे। आन्द्रे रसेलले १७ बलमा ३३ रन बनाउँदै खेललाई रोमाञ्चक मोडमा पुर्याएका थिए। उनले ४ छक्का र १ चौका प्रहार गरे।
लोकेश बमले १४ बलमा २६ रन बनाए भने कप्तान एन्जेलो म्याथ्युजले १६ बलमा १४ रन जोडे। बसिर अहमदले १३ रन बनाए। तर, मध्यक्रम र तल्लो क्रमका ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा विराटनगर लक्ष्यसम्म पुग्न असफल भयो।
चितवनका कमलसिंह ऐरीले घातक बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। रिजन ढकालले ३ ओभरमा २५ रन दिएर २ विकेट लिए। रञ्जित कुमारले ४ ओभरमा १५ रन मात्रै खर्चेर १ विकेट लिए। डान मोस्ली, मौसमी धकाल र टम टेलरले पनि समान १–१ विकेट लिए।
विराटनगरका लागि रसेलले आक्रामक ब्याटिङ गरे पनि ऐरीको बलिङले खेलको दिशा बदल्यो। विराटनगरले अन्तिम पाँच ओभरमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको थियो। अन्तिमतिर लगातार विकेट गुमाएपछि टोली १९.३ ओभरमै समेटियो।
मलानको अर्धशतकमा चितवनको प्रतिस्पर्धात्मक योगफल
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।
चितवनका ओपनर डाविड मलानले ५० बलमा ७० रन बनाए। उनले ५ चौका र ५ छक्का प्रहार गरे। जारी संस्करणको एनपीएलमा यो पहिलो अर्धशतक थियो।
मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए। विकेटकिपर ब्याटर अर्जुन साउदले ९ बलमा ३ रन मात्रै बनाउन सके।
मलान १३औँ ओभरमा आन्द्रे रसेलको बलमा आउट भएपछि कप्तान रवि बोपारा र डान मोस्लीले इनिङ्स सम्हाले। दुवैले चौथो विकेटका लागि अविजित ६७ रनको साझेदारी गर्दै चितवनलाई बलियो अवस्थामा पुर्याए। बोपारा २६ बलमा ३२ रन र मोस्ली २२ बलमा २९ रन बनाएर अविजित रहे।
विराटनगरका लागि चरिथ असलंकाले १ विकेट लिए। एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले पनि समान १–१ विकेट लिए।
चितवन मेडिकल कलेजको स्वामित्वमा राइनोज
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको फ्रेन्चाइज क्रिकेट टोली हो। सन् २०२४ सेप्टेम्बर ५ मा भएको अक्सनमार्फत चितवन मेडिकल कलेजले १ करोड ७६ लाख १ हजार रुपैयाँमा चितवन फ्रेन्चाइजको स्वामित्व प्राप्त गरेको थियो।
चितवनको प्राकृतिक पहिचान झल्काउने गरी टोलीले एकसिङ्गे गैँडालाई आफ्नो मस्कट बनाएको छ। टोलीको लोगोमा पनि गैँडालाई समावेश गरिएको छ।