काठमाडौं - मुख्य सचिव लिलामणि पौड्यालले डन र माफियाले उठाएको पैसाले मान्छे किनेर मेडिकल कलेजलाई ठुला व्यापारको अखडा नबनाउन चेतावनी दिएका छन्। स्वास्थ्य सेवा दिवसको अवसरमा आज स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा मुख्य सचिव पौडेलले मेडिकल कलजेलाई व्यापारको अखडा मात्र नबनाउन चेतावनी दिएका हुन्।
गत वर्ष सरकारले निजी मेडिकल कलेजलाई जिल्लाको स्वास्थ्य सेवाको जिम्मेवारी दिएको र त्यसका लागि २ अर्ब बजेट दिइएको उल्लेख गर्दै पौड्यालले सरकारको शर्त पूरा नगरे मेडिकल कलेजकै आम्दानीको स्रोत खोज्ने चेतावनी दिएका छन्।
स्वास्थ्य मन्त्रालयका संबन्धित अधिकारीलाई निर्देशन दिदैं मुख्य सचिव पौड्यालले भने, ‘अन्यथा सरकारले कलेज खोल्ने पैसा कहाँबाट ल्याएको भनेर अनुसन्धान गर्छ’।
स्रोत नखुलेका सम्पत्ति लगाएर अकुत आन्दानी गरिरहेका कलेजहरुले सामाजिक दायित्व पूरा नगरेको पनि उनले बताए। ‘विशेषज्ञ सेवा नपुर्याए सरकारले कलेज सञ्चालकका सम्पतिको छानबिन गर्छ, सेवा दिनुभयो भने बिर्सौला, तर निहुँ
खोज्ने हो भने हामी कहाँ बिर्सन्छौं, हैन भने कहाँबाट कमाएका छन् भन्ने खोजिन्छ’।
मुख्य सचिव पौड्यालले डाक्टरलाई पनि तोकिएको अवधि जिल्लामा गएर काम नगर्दासम्म प्रमाणपत्र नै रोकिदिनुपर्ने प्रावधान लागु गर्नुपर्ने सुझाव स्वास्थ्य मन्त्रालयका अधिकारीलाई दिए। ‘छात्रवृत्तिको डाक्टर परिचालनमा पनि त्यस्तै समस्या छ’ उनले भने।
हिपोक्रेटिक सपथ लिएका डाक्टरको डिग्री डेबिटक्रेडिट र ब्यालेन्स सिट बनाएर पाएको डिग्रीभन्दा फरक रहेको भन्दै मुख्य सचिवले समाजसेवा गर्ने स्वास्थ्य सेवाको ऐनमा थुपै त्रुटी रहेको र बिरामीलाई सेवा दिनसक्ने विशेषज्ञ चिकित्सकलाई मन्त्रालयमा फाइल गन्ने काममा थन्क्याउने स्थिति रहेको बताए।
‘यहाँ धेरै विकृति छन्, कोही विशेषज्ञ वर्षौदेखि बढुवा पाएका छैनन् भने केही विशेषज्ञ पदमा बढुवा हुने मान्छे नै पाइन्न’ उनले भने। उनले औषधि खरिदमा भएको अनियमितताको पारदर्शी ढंगले छानबिन गर्न पनि निर्देशन दिए। ‘गत हप्ता मैले छापामा कमसल औषधि खरिद भएको समाचार पढेँ। दुई दिनपछि त्यो औषधि वितरणमा गयो रे भन्ने पनि सुनेँ। हेल्थपोष्टमा ४ वर्ष बाँडेपनि नसकिने र केही महिनामात्रै म्याद बाँकी रहेको औषधि छ रे।’ उनले प्रश्न गरे, ‘कसका लागि किनिरहनु भएको छ। जनता पिराउने काम कसले गरेको छ। त्यसको छानबिन निर्मम र पारदर्शी ढंगले गर्नुस्।’
उनले नवनियुक्त स्वास्थ्य मन्त्री खगराज अधिकारी आफूले जानेसम्म इमान्दार रहेको भन्दै दलका मान्छे भनेर सम्झौता नगर्न पनि मन्त्री अधिकारीलाई सुझाव दिए। उनले भने, ‘दलका मान्छे भनेर सम्झौता नगर्नुस्। ताकि अर्कोले यो आँट
नगरोस्।’