गर्भवती हुनु कुनेै पनि महिलाका लागि सबैभन्दा खुसीको कुरा हो । यो समयमा आफ्नो तथा पेटभित्र हुर्कंदै गरेको बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर मात्र काम गर्नुपर्छ ।
ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरू गर्भवतीको सुरुवाती चरणदेखि सुत्केरी हुँदासम्म पनि सजिलो–गाह्रो जस्तोसुकै काममा सक्रिय रहने गरेका छन् । त्यो उनीहरूको बाध्यता पनि होला । तुलनात्मक रूपमा ग्रामीण क्षेत्रका महिलाभन्दा सहरी क्षेत्रमा बसोबास गर्ने महिलाको दैनिकी सहज देखिन्छ । गर्भवती हुँदा केही काम गर्नु हुँदैन, आराम मात्र गर्नुपर्छ भन्ने पनि छन् कतिपय । चिकित्सकहरूको सल्लाहअनुसार गर्भवतीले सुरुको अवस्थादेखि नै आफूले सक्नेसम्म सामान्य काम गर्दा फरक पर्दैन ।
कार्यालयमा काम गर्ने महिलाले पनि गर्भवतीको समयमा कामलाई निरन्तरता दिन सक्छन् । गर्भवती हुँदा घरबाहिर निस्कनु हुँदैन भन्ने मानसिकतालाई नकार्दै हिजोआजका शिक्षित महिलाले गर्भावस्थामा पनि आफ्नो जिम्मेवारी राम्रोसँग निभाएका धेरै उदाहरण छन् । गर्भवती भएको समयदेखि बच्चा हुर्काउने बहानामा समेत धेरै महिलाले आफ्नो योग्यता तथा क्षमताले दिएको काम पन्छाउने गरेका पनि छन् । यसले गर्दा उनीहरूको लामो समय बिना उपलब्धी बितिरहेको हुन्छ ।
प्रकृतिले नै बच्चा पाउने जिम्मेवारी महिलालाई सुम्पेको छ, जसकारण यो महिलाको सबैभन्दा सुन्दर पल हो । त्यसैले आफ्नो यो जिम्मेवारी बहन गर्ने सिलसिलामा नियमित कामतर्फ पनि उतिकै सक्रिय भएर लाग्नुपर्छ ।
कामकाजी महिलाले गर्भवती हुँदा विभिन्न कुरामा ध्यान दिन जरुरी छ । आफ्नो नियमित काममा समेत बाधा नपुर्याई बच्चा तथा आमाको स्वास्थ्य स्वस्थ र सुरक्षित राख्न सकिने धेरै विकल्प छन्।
केमा ध्यान दिने ?
—गर्भवतीहरूमा उच्च रक्तचाप, अनियन्त्रित मधुमेह, पटकपटक ब्लिडिङ हुने, त्योभन्दा अगाडि पनि बच्चा खेर गएको भए अथवा कसैको पहिले पनि प्रि–म्याच्योड डेलीभरी भएको भए पर्याप्त मात्रामा आराम गर्नुपर्ने हुन्छ ।
—कार्यालयमा काम गर्नुपर्ने समय बढी छ भने घरमा आफूले गर्नैपर्ने कामबाहेक अरू समय पर्याप्त मात्रामा आराम गर्नुपर्छ । भारी काम छ भने त्यसलाई परिवर्तन गरेर टेवल वर्क जस्तो धेरै परिश्रम गर्नु नपर्ने सजिलो सेक्सनमा कामलाई सार्न सकिन्छ ।
—मेडिकल सेक्टरतिर काम गर्ने महिला विशेषगरी एक्सरे हुने स्थानमा जानु हुँदैन ।
—जुन स्थानमा एक्सरे मेसिन छ, त्यहाँबाट जोगिनुपर्छ ।
—भारी काम गर्नुपर्ने स्थानहरूमा नजाने ।
—रासायनिक पदार्थ उत्पादन हुने कलकारखाना, केमिकल प्रयोग हुने स्थानबाट जोगिने ।
—धुम्रपान हुने क्षेत्रबाट टाढै रहने ।
—खुल्ला रूपले धुम्रपान गर्ने स्थान जस्तैः क्यासिनो तथा रेस्टुरेन्टतिर नजाने ।
—बढी आवाज आउने ठाउँमा बस्दा मानसिक तनाव बढ्ने भएकाले त्यस्ता स्थानमा धेरै बेर बस्नु हुँदैन ।
—धुलोधुवाँ भएको क्षेत्रमा एलर्जीको सम्भावना भएकाले त्यसबाट जोगिनुपर्छ ।
—विद्युतीय सामानको निरन्तर प्रयोगले आँखामा समस्या आउँछ । तसर्थ गर्भवती अवस्थामा आँखालाई बढी आराम दिनुपर्छ ।
—टेबलमा बसेर धेरैबेर काम गर्दा खुट्टा झुन्ड्याएर बस्नुपर्ने भएकाले समय–समयमा हिँडडुल गर्ने ।
—एकै ठाउँमा धेरैबेर नबस्ने किनकि गर्भवती अवस्थामा हाम्रो पिडुँलातिर रगत जम्ने डर हुन्छ । बेलाबेला पिडुँलाको मसाज गर्ने ।
—आरामसँग बसिरहेको ठाउँबाट जुरुक्क नउठ्ने । यसो गर्दा ब्लडप्रेसर फल हुने डर हुन्छ । जसले गर्दा रिँगटा लागेर लड्न सकिन्छ ।
—घरमै बनाइको सफा र सन्तुलित आहार खाने । अफिस जानुपर्ने भए घरबाटै खाजा लैजाने ।
—बजारमा उपलब्ध अस्वस्थकर खाना खाँदा झाडा, वान्ता, टाइफाइड, जन्डिस जस्ता समस्या थपिने भएकाले यस्ता खानेकुराबाट जोगिने ।
—हरेक दुई घन्टाको फरकमा केही न केही खानेकुरा खाइरहने ।
—फलफूल, तरल पदार्थ, गेडागुडीहरू मिलाएर खाने गर्नुपर्छ ।
—शरीरमा पानीको मात्रा कम हुन दिनुहुन्न । जुसको नियमित सेवन गर्ने ।
—आफूलाई सजिलो महसुस हुने, सुतीको सफा र खुकुलो कपडाहरू लगाउनुपर्छ ।
—एकदम कसिलो कपडाको प्रयोग नगर्ने ।
—जुत्ताचप्पल पनि सजिलो खालको लगाउनुपर्छ । अग्लो चुच्चो परेको जुत्ताचप्पल लगाउँदा ढाड दुख्ने समस्या आउँछ ।
—हिँडडुल गर्दा बिस्तारै हिँड्ने । कुनै पनि काम गर्दा हतार नगर्ने ।
जिम्मेवारी व्यवस्थापन
कामको चापलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर शान्त भएर सोच्ने र आफूले सक्ने किसिमको काम मात्र गर्नुपर्छ । कार्यालयको कामबाट असहज भइरहको छ भने सो कुराको जानकारी व्यवस्थापनमा गराउनुपर्छ।
गर्भवती अवस्थामा तनाव त लिनै हुन्न । आफ्नो काममा रमाउन सिक्नुपर्छ । विभिन्न शारीरिक तथा मानसिक परिवर्तन देखा पर्ने भएकाले त्यसलाई प्राकृतिक प्रक्रिया मानेर अत्तालिनु हुन्न । अप्ठेरो लागे आफन्त वा सहकर्मीसँग सहयोग माग्न झन्झट मान्नु हुँदैन । सहकर्मीभित्र पनि आफूभन्दा अगाडि आमा भइसकेकाहरूसँग अनुभव सुन्ने गर्नुपर्छ।
सधैं सकारात्मक भावना राखे कुनै समस्या आइपर्दैन । कुनै व्यक्ति वा काम गर्ने स्थानले मानसिक तनाव दिएको महसुस भए त्यो ठाउँ छोडेर भए पनि आफूलाई व्यवस्थित राख्न प्रयास गर्नुपर्छ । कसरी आफू स्वस्थ र खुसी बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुपर्छ । स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही नभएकाले स्वास्थ्यलाई नै जोखिममा पारेर कुनै पनि लाभ लिनु हुँदैन ।
आफूलाई के गर्दा आनन्द महसुस हुन्छ, त्यसलाई अपनाउनुपर्छ । जस्तैः गीत सुन्ने वा फिल्म हेर्ने । यसले मूड फ्रेस बनाउन सहयोग पुर्याउँछ ।
आफ्नो सुत्केरी समयको बारेमा समेत जानकारी गराउनुपर्छ । यसका लागि पहिले नै बिदाको लागि पहल गर्नुपर्छ, जसबाट अफिसको काममा पनि क्षति हुँदैन । सबैभन्दा महत्वपूर्ण त काम गर्ने वातावरण आमा र पेटको बच्चाको स्वास्थ्यलाई हानि नपुग्ने खालको हुनु आवश्यक छ ।
(अग्रवाल वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन् ।)